Logo

३ माघ,सेढवा । संघीय कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन प्रसाद परियारले स्थानीय तहमा निर्माण भएका कृषि तथा पशुपन्छी सेवा केन्द्रहरूबाट किसानले अधिकतम लाभ लिनुपर्नेमा जोड दिएका छन्। पर्साको जिराभवानी र पटेर्वासुगौली गाउँपालिकामा निर्माण सम्पन्न आधुनिक कृषि तथा पशुपन्छी सेवा केन्द्र भवनको उद्घाटन तथा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

मन्त्री डा. परियारले करोडौँ रुपैयाँ लगानी गरेर निर्माण गरिएका सरकारी भवनहरू कतिपय स्थानमा प्रयोगविहीन भई जीर्ण बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै अब यी भवनहरू पालिकाले स्वामित्वमा लिएपछि सक्रिय रूपमा सञ्चालन गर्नुपर्ने बताए। सेवा केन्द्रमार्फत किसानलाई सरल, सहज र प्रभावकारी सेवा प्रवाह गर्न जनप्रतिनिधिहरूले अग्रसरता देखाउनुपर्ने उनको भनाइ थियो।

उनका अनुसार यी सेवा केन्द्रहरूबाट माटो तथा बीउ परीक्षण, बालीमा देखिने विभिन्न रोगको सूक्ष्म परीक्षण गरी समयमै उपचार सम्भव हुनेछ। यसका साथै पशुपन्छीको रगत परीक्षण गरी रोग पहिचान तथा उपचार गर्न सकिने भएकाले व्यवसायिक र परम्परागत पशुपालनमा हुने क्षति न्यूनिकरण गर्न मद्दत पुग्ने उनले बताए।

मन्त्री परियारले सेवा केन्द्रलाई दीगो बनाउन पालिकाले भवन तथा उपकरणको नियमित मर्मतसम्भार, आवश्यक केमिकल तथा सामग्रीको व्यवस्था र दक्ष जनशक्ति परिचालनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा संघीय सरकार अन्तर्गत कृषि तथा पशुपन्छी विकास मन्त्रालयको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाका निर्देशक डा. चन्द्र प्रसाद रिसालले विश्व बैंकको ऋण सहयोगमा आयोजना देशका ६ प्रदेशका ३५ जिल्लामा सञ्चालन भइरहेको जानकारी दिए। उनले १७१ पालिकामध्ये हाल ७४ पालिकामा आयोजना क्रियाशील रहेको र मधेश प्रदेशमा मात्र ८४ पालिकामा काम भइरहेको बताए। हालसम्म २५ पालिकामा सेवा केन्द्र भवन हस्तान्तरण भइसकेको उनले जानकारी दिए।

ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक करिडोर कार्यालय बर्दिबास, महोत्तरीको आयोजनामा जिराभवानी गाउँपालिका–३ मा निर्माण सम्पन्न सेवा केन्द्र भवन हस्तान्तरण तथा उद्घाटन गरिएको हो। गाउँपालिका अध्यक्ष अनोज चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रेखा चौधरी, प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरी, आर्थिक करिडोर बर्दिबासका प्रमुख राजेश यादव, कृषि अनुसन्धान निर्देशनालय परवानीपुरका प्रमुख विश्वेश्वर प्रसाद यादव, जनप्रतिनिधि तथा किसानहरूको सहभागिता रहेको थियो।

यसैगरी पटेर्वासुगौली गाउँपालिकामा पनि कृषि तथा पशुपन्छी सेवा केन्द्रको दुईतले आधुनिक भवन उद्घाटन गरिएको छ। गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उक्त भवनमा अत्याधुनिक परीक्षण उपकरण, फर्निचर, अपाङ्गमैत्री तथा महिलामैत्री संरचना रहेको जानकारी गराइयो। साथै पशुपन्छी रोगका कारण मृत्यु भएमा सम्भावित जीवाणु वातावरणमा फैलिन नदिन आधुनिक प्रविधिबाट नष्ट गर्ने व्यवस्था समेत गरिएको छ।

स्थानीय तहमा निर्माण भएका यस्ता सेवा केन्द्रले किसानको उत्पादन, आय वृद्धि र कृषि तथा पशुपालनको व्यवसायिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार