५ माघ, काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै ‘निर्वाचन आचारसंहिता, २०८२’ आजदेखि देशभर लागू गरेको छ ।
सोमबार बिहान १२ बजेदेखि नै कार्यान्वयनमा आएको यो आचारसंहिताले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने लक्ष्य राखेको छ। नेपाल राजपत्रमा समेत प्रकाशित भइसकेको यो आचारसंहिता आयोगले अर्को सूचना जारी नगरेसम्म सबै सरोकारवाला निकाय र व्यक्तिहरूका लागि बाध्यकारी हुनेछ।
आयोगका अनुसार यसपटक आचारसंहिताको दायरा निकै फराकिलो बनाइएको छ। जसअन्तर्गत नेपाल सरकार र मन्त्रीहरू, प्रदेश सरकार र तिनका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, र स्थानीय तहका कार्यपालिका सदस्यहरू समेटिएका छन्।
त्यसैगरी संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सरकारी तथा अर्धसरकारी संस्थाका कर्मचारी, राजनीतिक दल र तिनका भ्रातृ संगठनहरूले पनि आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेछ। प्रत्यक्ष रूपमा संलग्न उम्मेदवार, मतदान तथा मतगणना प्रतिनिधि, अनुगमनकर्ता र सार्वजनिक पद धारण गरेका व्यक्तिहरूलाई समेत आयोगले विशेष निगरानीमा राख्ने जनाएको छ।
यसका अतिरिक्त सञ्चार माध्यम, सञ्चारकर्मी, पर्यवेक्षण संस्था, निजी तथा गैरसरकारी संस्था, विश्वविद्यालय तथा विद्यालयका शिक्षक र कर्मचारीहरूलाई पनि आचारसंहिता लागू हुनेछ। निजी क्षेत्रअन्तर्गतका बैंक तथा वित्तीय संस्था, सहकारी, व्यापारिक तथा औद्योगिक घराना, र वस्तु तथा सेवा प्रदायक संस्थाका कामदार र पदाधिकारीहरूका लागि पनि यो संहिता बाध्यकारी बनाइएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनको विश्वसनीयता कायम राख्न र आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवालाहरूको सक्रिय सहयोग आवश्यक रहेको बताउनुभयो। आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई पनि कानुनी कारबाहीको दायरामा ल्याइने आयोगले चेतावनी दिएको छ।















