Logo

५ माघ, वीरगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा जिल्ला सुरक्षा समितिले आफ्नो तयारीलाई उच्च प्राथमिकतामा राखेको छ। जिल्ला सुरक्षा समितिले सुरक्षा चुनौतीको विश्लेषण गर्दै जिल्लाभरका १६७ मतदानस्थलमध्ये ६२ वटालाई ‘अतिसंवेदनशील’ सूचीमा राखेर विशेष सुरक्षा रणनीति अख्तियार गरेको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार बाँकी ८५ वटा मतदानस्थललाई संवेदनशील र २० वटालाई सामान्य सूचीमा वर्गीकरण गरिएको छ। निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायहरूबीच सघन समन्वय भइरहेको र मतदानस्थलहरूको भौतिक निरीक्षण कार्यलाई तीव्रता दिइएको छ। जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गत माघ २ गते नै निर्वाचन अधिकृतको कार्यालय स्थापना भई सुरक्षाकर्मी परिचालन भइसकेका छन्।

पर्सामा निर्वाचन क्षेत्र अनुसार मतदानस्थलको सङ्ख्या बाँडफाँड गरिएको छ, जसमा क्षेत्र नम्बर १ मा ३४, क्षेत्र नम्बर २ मा ३८, क्षेत्र नम्बर ३ मा ४७ र क्षेत्र नम्बर ४ मा ४८ वटा मतदानस्थल तोकिएका छन्। जिल्लाभर कुल ४४१ वटा मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र रहने निश्चित भएको छ। निर्वाचन नजिकिँदै गर्दा प्रशासनले सम्भावित चुनौतीलाई ध्यानमा राखेर सीमा नाका र संवेदनशील क्षेत्रमा गस्ती तथा निगरानी बढाएको जनाएको छ।

यसपटक पर्सामा कुल ३ लाख ७६ हजार ५१३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन्। जसमध्ये २ लाख १२ हजार ७७ पुरुष, १ लाख ६४ हजार ४२१ महिला र १५ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक रहेका छन्। मतदाताको चाप र भौगोलिक संवेदनशीलताका आधारमा थप सुरक्षाकर्मी र म्यादी प्रहरीको व्यवस्थापन मिलाइएको प्रशासनले स्पष्ट पारेको छ।


सम्बन्धित समाचार
भर्खरै