५ मांघ,काठमाडौं । पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेसको नेतृत्वसँग सक्रिय संवादमा जुटेकी छन्। मंगलबार प्रतिनिधिसभा उम्मेदवारी दर्ता गर्नु अघि उनले गगन थापा नेतृत्वको कांग्रेसका नेताहरूसँग सम्भावित पार्टी प्रवेश वा सहकार्यका विषयमा छलफल थालेको स्रोतले पुष्टि गरेको छ।
वर्तमानमा कांग्रेसमा उम्मेदवार छनोट प्रक्रिया तनावपूर्ण रहेको छ। सभापति गगन थापा, निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला पक्षहरूबीच सूची एकीकृत गरी उम्मेदवार तय गर्ने काम चलिरहेको छ।
सभापति थापानिकट एक नेताका अनुसार, “सामाजिक सञ्जालमा चर्चा चलिरहेको सत्य हो, तर सुमना श्रेष्ठसँगको कुरा अहिलेसम्म फाइनलाइज भएको छैन। छलफल जारी छ, भरेसम्म कुरा मिलेर केही निर्णय हुन सक्छ।”
सुमना श्रेष्ठले गत भदौ २३–२४ को जेन-जी आन्दोलनपछि राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी थिइन्। त्यतिखेर उनी पार्टीका कार्यशैलीमा असन्तुष्ट थिइन् र तत्कालीन मेयर बालेन्द्र साहको समूहसँग पनि निकटता राखेकी थिइन्। त्यसपछिका छलफलमा उनी कुलमान घिसिङसँग पनि संवादमा रहेकी छन्।
विशेषज्ञहरूका अनुसार सुमना श्रेष्ठको सम्भावित कांग्रेस प्रवेश वा सहकार्यले आगामी निर्वाचनमा पार्टीको रणनीतिमा महत्वपूर्ण प्रभाव पार्न सक्छ।















