५ माघ,जनकपुर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सोमबार जनकपुरमा आयोजित चुनावी सभामा आफूलाई षड्यन्त्रपूर्वक संसदबाट बाहिर निकालिएको दाबी गर्दै आगामी निर्वाचनमा रास्वपालाई सबैभन्दा धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने प्रतिवद्धता जनाएका छन्।
लामिछानेले चितवनबाट अत्यधिक मतसहित निर्वाचित भए पनि छलछामका कारण संसद सदस्य पद गुमाउनुपरेको बताए। उनले भने, “चितवनबासीले मलाई सबैभन्दा धेरै भोट दिएर संसदमा पठाएका थिए, तर छलछाम गरेर संसदबाट निकालियो। हिजो म सबैभन्दा धेरै भोट ल्याउने सांसद थिएँ, अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसदमा जानेछौं।”
आफूमाथि निरन्तर मुद्दा लगाइँदै आएको भए पनि उनले जनताको मुद्दा बोकेर अघि बढ्ने बताए। “प्रत्येक दिन मेरो टाउकोमा मुद्दा लगाइएका छन्, तर मलाई प्रवाह छैन। हारे हारिन्छ, जिते जितिन्छ,” लामिछानेले भने।
उनले काठमाडौं महानगरपालिकाका निर्वतमान मेयर बालेन शाहसँगको भेटबारे पनि धारणा राख्दै, पाँच मिनेटमै भेट टुंगिएको र देश तथा जनतालाई केन्द्रमा राख्दा लामो वार्ताको आवश्यकता नरहेको बताए।
लामिछानेले भने, “जब देशलाई केन्द्रमा राखिन्छ, वार्ताको नाटक गर्न पर्दैन। म र बालेन शाह दुवै देशको हित र जनताको चाहनाअनुसार एक ठाउँमा आएका छौं। नेपाल अब गरिबी र विभेद सहन सक्दैन।”















