५ माघ,वीरगञ्ज । प्रचण्ड संयोजक र माधवकुमार नेपाल सहसंयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रका लागि उम्मेदवार टुंगो लगाएको छ । पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयन गरेको हो ।
नेकपाले पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट नयाँ अनुहारका रूपमा चार्टर्ड एकाउन्टेन्ट अजय चौरसियालाई उम्मेदवार बनाएको छ । चौरसिया वीरगन्ज महानगरपालिका–१६ का स्थायी बासिन्दा हुन् ।
त्यसैगरी पर्सा क्षेत्र नम्बर–२ बाट पार्टीका केन्द्रीय सदस्य मनोज चौधरी उम्मेदवार बनेका छन् । क्षेत्र नम्बर–३ बाट छोटेलाल यादवलाई उम्मेदवार बनाइएको छ भने क्षेत्र नम्बर–४ बाट संविधानसभा सदस्य जयप्रकाश थारुले टिकट पाएका छन् ।
जयप्रकाश थारु केही दिनअघि मात्रै नेकपा एमाले परित्याग गरी नेकपामा प्रवेश गरेका हुन् । उनी हाल नेकपाका केन्द्रीय सदस्यसमेत रहेका छन् ।
पार्टी स्रोतका अनुसार पर्सामा संगठन सुदृढीकरण र निर्वाचन जित्ने रणनीतिअनुसार उम्मेदवार चयन गरिएको हो । नेकपाले पर्साका सबै निर्वाचन क्षेत्रमा सशक्त प्रतिस्पर्धा गर्ने तयारी गरेको जनाएको छ ।















