५ माघ, काठमाडौं । बागमती प्रदेशसभा सदस्य युवराज दुलाल (शरद) ले सांसद पदबाट राजीनामा दिएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेसँगै उनले पदबाट राजीनामा दिएका हुन् ।
पार्टीबाट टिकट पक्का भएपछि दुलालले उम्मेदवारी दर्ता गर्नुअघि सभामुखसमक्ष प्रदेशसभा सदस्य पदबाट राजीनामा बुझाएका हुन् । आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ भने माघ ६ गते उम्मेदवारी मनोनयन दर्ताको कार्यतालिका छ ।
चौतारा साँगाचोकगढी नगरपालिका स्थायी घर भएका दुलाल सिन्धुपाल्चोक–२ (क) बाट दुई पटक बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भइसकेका नेता हुन् । उनले २०७४ र २०७९ को निर्वाचनमा लगातार जित निकाल्दै प्रदेशसभामा प्रतिनिधित्व गरेका थिए ।
आठ वर्षे प्रदेशसभा कार्यकालको अधिकांश समय उनी सरकारमा रहेर काम गरेका थिए । २०७४ देखि २०७७ सम्म बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र २०७९ देखि २०८१ सम्म भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै उनले काम गरेका थिए ।
सिन्धुपाल्चोक–२ मा अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका मोहन बस्नेत निर्वाचित भएका थिए । तत्कालीन माओवादीसँगको सहकार्यमा बस्नेतले चुनाव जिते पनि विकासका काममा अपेक्षित सक्रियता नदेखाएको भन्दै आलोचना हुँदै आएको छ ।
यसै क्षेत्रबाट नेकपा एमालेले शेरबहादुर तामाङलाई उम्मेदवार बनाएको छ । तामाङ यसअघि पनि यही क्षेत्रमा प्रतिस्पर्धा गरी पराजित भएका थिए । दुलालको उम्मेदवारीसँगै सिन्धुपाल्चोक–२ मा यसपटक त्रिपक्षीय प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।















