Logo

 ६ मांघ,काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार मनोनयन दर्ता गर्दा नागरिकताको प्रमाणपत्र अनिवार्य कागजातका रूपमा पेस गर्नुपर्ने **निर्वाचन आयोग**ले जनाएको छ।

आयोगले निर्धारण गरेको कार्यसूचीअनुसार आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। मनोनयनका क्रममा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रहनेछ। साथै, सम्बन्धित गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि आवश्यक पर्ने आयोगले स्पष्ट पारेको छ।

उम्मेदवारी दिँदा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा तथा ती निकायको स्वामित्व वा नियन्त्रणमा रहेको वा अनुदान प्राप्त संस्थाबाट पारिश्रमिक लिने गरी बहाल रहेको व्यक्ति भए सम्बन्धित पदबाट राजीनामा दिएको निस्सा पेस गर्नुपर्नेछ। साथै, सम्बन्धित अनुसूचीबमोजिम प्रतिनिधि मुकरर गरेको फाराम पनि अनिवार्य रहनेछ।

प्रचलित कानुनअनुसार योग्यता पुगेको व्यक्तिले मनोनयनपत्र दर्ता गर्दा प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ८ बमोजिम सोही निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका एक जना प्रस्तावक र एक जना समर्थकको विवरण र हस्ताक्षर सहितको मनोनयनपत्र पेस गर्नुपर्ने व्यवस्था छ।

दलको तर्फबाट उम्मेदवारी दिएको खण्डमा उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको सम्बन्धित दलको केन्द्रीय कार्यकारिणी समिति वा सोसरहको समितिका पदाधिकारीले जारी गरेको आधिकारिक पत्र अनिवार्य हुनेछ। एकल चुनाव चिह्न लिएर संयुक्त रूपमा निर्वाचनमा सहभागी दलहरूको हकमा भने प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ बमोजिमको औपचारिक मनोनयन पत्र पेस गर्नुपर्नेछ।

आयोगका अनुसार उम्मेदवारले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा १० हजार रुपैयाँ धरौटी जम्मा गरेको रसिद वा भौचर पनि पेस गर्नुपर्नेछ। महिला, दलित, अल्पसंख्यक समुदाय तथा आर्थिक रूपमा विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। आर्थिक रूपमा विपन्न उम्मेदवारले सम्बन्धित स्थानीय तहबाट सिफारिस पत्र पनि पेस गर्नुपर्नेछ।

त्यसैगरी, उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ बमोजिमको स्वघोषणा पत्र, चल–अचल सम्पत्ति, बैंक तथा वित्तीय संस्थामा रहेका खाता, धितोपत्र, सेयर, ऋणपत्र, ऋण लिएको वा दिएको विवरण समेटिएको सिलबन्दी सम्पत्ति विवरण र वैयक्तिक विवरण फाराम पनि अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।

उम्मेदवारले आफू निर्वाचित, मनोनीत वा नियुक्त भएको कुनै निकायबाट लिएको पेस्की फछ्र्योट भएको निस्सा तथा लेखा परीक्षणबाट किटानीसाथ असुल उपर गर्नुपर्ने बेरुजु भए सो फछ्र्योट गरेको प्रमाण पनि उपलब्ध गराउनुपर्ने आयोगले जनाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले उम्मेदवार मनोनयनका लागि आवश्यक सबै कागजात पूरा गरी समयमै उपस्थित हुन आग्रह गरेका छन्।


सम्बन्धित समाचार