६ माघ,वीरगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पर्सा जिल्लामा उत्साहपूर्ण रूपमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ। जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गरी कुल १०९ जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।
मुख्य निर्वाचन कार्यालय पर्साका अनुसार चार सिटका लागि एक सयभन्दा बढी उम्मेदवार चुनावी मैदानमा उत्रिएका हुन्। कार्यालयका प्रवक्ता यादवप्रसाद जोशीले दिएअनुसार क्षेत्र नम्बर–१ मा ३०, क्षेत्र नम्बर–२ मा ३२, क्षेत्र नम्बर–३ मा २३ र क्षेत्र नम्बर–४ मा २४ जनाको उम्मेदवारी दर्ता भएको छ।
चारै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल), जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), उज्यालो नेपाल, श्रम संस्कृति पार्टीसहित विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूको बाक्लो उपस्थिति देखिएको छ।
क्षेत्र नम्बर–१
यस क्षेत्रमा ३० जनाले मनोनयन दर्ता गराएका छन्। प्रमुख उम्मेदवारमा कांग्रेसबाट अनिलकुमार रुंग्टा, एमालेबाट प्रदीप यादव, जसपा नेपालबाट रामनरेश यादव, रास्वपाबाट हरि पन्त, जनमत पार्टीबाट ओमप्रकाश सर्राफ र नेकपाबाट अजय चौरसिया रहेका छन्।
क्षेत्र नम्बर–२
सबैभन्दा धेरै उम्मेदवारी परेको क्षेत्र नम्बर–२ मा ३२ जना प्रतिस्पर्धामा छन्। यहाँ कांग्रेसबाट पूर्वमन्त्री अजयकुमार चौरसिया, एमालेबाट रिमा यादव, जसपा नेपालबाट अशोक टेमानी, रास्वपाबाट सुशिल साह कानु, जनमत पार्टीबाट श्याम गुप्ता र नेकपाबाट मनोज चौधरी उम्मेदवार छन्।
क्षेत्र नम्बर–३
क्षेत्र नम्बर–३ मा २३ जनाको उम्मेदवारी दर्ता भएको छ। निर्वाचन कार्यालयका अनुसार कांग्रेसबाट सुरेन्द्रप्रसाद चौधरी, एमालेबाट रुपेश पाण्डे, जसपा नेपालबाट कमोद निराला, नेकपाबाट छोटेलाल यादव, रास्वपाबाट रामाकान्त चौरसिया र जनमत पार्टीबाट माल्ती कुशवाहा प्रमुख उम्मेदवार हुन्।
क्षेत्र नम्बर–४
यस क्षेत्रमा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसबाट पूर्वमन्त्री रमेश रिजाल, एमालेबाट जालिम मियाँ अन्सारी, रास्वपाबाट टेकबहादुर शाक्य, जसपा नेपालबाट कृपासिन्धु चौधरी र जनमत पार्टीबाट सिमादेवी कलवार चुनावी प्रतिस्पर्धामा छन्।
चारै निर्वाचन क्षेत्रमा मुख्य दलका चर्चित अनुहारसँगै स्वतन्त्र उम्मेदवारको उल्लेख्य उपस्थितिले यसपटक पर्साको निर्वाचन प्रतिस्पर्धात्मक र रोचक बन्ने संकेत देखिएको छ।















