९ माघ, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट ऐतिहासिक रूपमा सभापति निर्वाचित हुनुभएका युवा नेता गगन थापाले कार्यभार सम्हाल्न पहिलोपटक पार्टीको केन्द्रीय कार्यालय सानेपा पुग्नुभएको छ ।
गत पुस २७ देखि ३० गतेसम्म सम्पन्न महाधिवेशनबाट पार्टीको बागडोर सम्हाल्ने जिम्मेवारी पाउनुभएका थापा निर्वाचित भएको आठ दिनपछि शुक्रबार औपचारिक पदबहालीका लागि सानेपा पुग्नुभएको हो । सभापति थापाको स्वागतमा सानेपा परिसरमा नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
विशेष महाधिवेशनबाट चुनिएका अन्य पदाधिकारीहरूसहित पदबहाली गरेलगत्तै सभापति थापाले नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक समेत आह्वान गर्नुभएको छ । थापाको नेतृत्वमा चयन भएको १३५ सदस्यीय जम्बो केन्द्रीय कार्यसमितिले आजैबाट पार्टीका आगामी रणनीति र चुनावी तयारीका विषयमा औपचारिक छलफल सुरु गर्ने बुझिएको छ । कांग्रेसमा पुस्तान्तरण र रूपान्तरणको एजेन्डासहित नेतृत्वमा पुग्नुभएका थापाको यो पदबहालीलाई पार्टीभित्र र बाहिर निकै उत्साहका साथ हेरिएको छ ।
















