Logo

९ माघ, काठमाडौं । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ मा देखिएको बागी उम्मेदवारीको विवादले नेपाली कम्युनिस्ट पार्टीभित्र ठूलो विद्रोहको रुप लिएको छ ।

पार्टीका प्रभावशाली नेता हरिबोल गजुरेलले नेतृत्वको निर्देशनलाई ठाडै अस्वीकार गर्दै सिन्धुलीबाट विद्रोहको झण्डा उठाएको घोषणा गर्नुभएको छ। शुक्रबार साँझ काठमाडौँमा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालसँग भएको करिब दुई घण्टा लामो सघन छलफलमा गजुरेलले बागी उम्मेदवार महेश्वर दाहालको उम्मेदवारी फिर्ता गराउन गरिएको प्रस्तावलाई पूर्ण रूपमा नकार्नुभएको हो । नेतृत्वले उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिए पनि गजुरेलले त्यसलाई स्वेच्छाचारिता र परिवारवाद विरुद्धको लडाइँ भन्दै चुनौती दिनुभएको छ ।

छलफलका क्रममा गजुरेलले पार्टीभित्र हुर्किँदै गएको निरंकुशता र उम्मेदवार चयनमा भएको मनपरीका कारण आफू विद्रोहमा उत्रिनुपरेको प्रष्ट पार्नुभयो। उहाँले पार्टीको सिफारिस समितिको निर्णयलाई लत्याउँदै क्षेत्र नम्बर १ का लागि सिफारिस भएका राजन दाहाललाई जबरजस्ती क्षेत्र नम्बर २ मा ल्याएर टिकट दिएकोमा कडा आपत्ति जनाउनुभएको छ ।

कांग्रेस सभापति गगन थापाको उदाहरण दिँदै गजुरेलले अब आफू पछि नहट्ने र यो विद्रोहले देशभरका उत्पीडित कार्यकर्तालाई उर्जा दिने दाबी गर्नुभएको छ । उहाँको यो अडानले सिन्धुलीको चुनावी समीकरण मात्र होइन, पार्टीको आन्तरिक अनुशासनमा समेत गम्भीर संकट पैदा गरिदिएको छ ।


सम्बन्धित समाचार