११ माघ, काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाका रिक्त चार सदस्य चयनका लागि मधेश प्रदेशमा आज उत्साहपूर्ण रूपमा मतदान प्रक्रिया सुरु भएको छ ।
जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन कार्यालयले जनाएको छ । राजनीतिक सरगर्मीका बीच सुरु भएको यस निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरूले आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् ।
निर्वाचनलाई व्यवस्थित र सहज बनाउन मतदानस्थलमा दुईवटा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ। एउटा केन्द्रमा प्रदेश सभा सदस्यहरू र अर्कोमा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूले मतदान गर्ने प्रबन्ध मिलाइएको निर्वाचन अधिकृत सुभाषबाबु पुरीले जानकारी दिनुभयो। मधेश प्रदेशबाट अन्य, महिला, दलित र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूह गरी चारवटा क्लस्टरमा नयाँ नेतृत्व चयन गर्न मतदाताहरू लामबद्ध भएका छन्।
यस पटकको निर्वाचनमा मधेशको राजनीतिक समीकरण निकै रोचक देखिएको छ। कुल ११ जनाले उम्मेदवारी दर्ता गराएको भए तापनि जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीचको पछिल्लो चुनावी तालमेलले प्रतिस्पर्धालाई नयाँ मोड दिएको छ ।
जसपाले आफ्ना तीन जना उम्मेदवारको उम्मेदवारी निष्क्रिय भएको घोषणा गरे पनि प्राविधिक कारणले मतपत्रमा भने उनीहरूको नाम कायमै रहेको छ मैदानमा अहिले नेकपा, नेपाली कांग्रेस, नेकपा एमाले र लोसपाका उम्मेदवारहरूबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
महिला समूहमा तीन, दलितमा तीन, अपाङ्गता वा अल्पसंख्यक समूहमा तीन र अन्य समूहमा दुई जना उम्मेदवारहरू चुनावी मैदानमा छन् । यो निर्वाचनमा मधेश प्रदेशका १०० जना प्रदेश सभा सदस्य र २६४ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी कुल ३६४ जना मतदाताहरूले प्रदेशको प्रतिनिधित्व गर्ने चार भाग्यशाली सदस्यको फैसला गर्नेछन् । मतदान सकिएलगतै गणनाको प्रक्रिया अगाडि बढाइने तयारी समेत गरिएको छ।
















