Logo

११ माघ, काठमाडौँ । आसन्न निर्वाचनको सरगर्मीसँगै देशको राजनीतिक माहोल निकै तातिएको छ ।

विशेषगरी प्रमुख दलका शीर्ष नेताहरूबीच ‘पब्लिक डिबेट’ (सार्वजनिक बहस) गर्ने विषयले यतिबेला नयाँ मोड लिएको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने र देश जलाउने शक्तिबीचको भिन्नता प्रस्ट पार्न आफू पारदर्शी बहसका लागि तयार रहेको घोषणा गरेपछि चुनावी मैदानमा नयाँ तरङ्ग पैदा भएको छ ।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत ओलीले प्रधानमन्त्रीका दाबेदार सबै पक्षलाई एउटै मञ्चमा उभिएर आफ्ना एजेन्डा र विगतका कामबारे आमने–सामने बहस गर्न चुनौती दिनुभएको थियो । ओलीले सार्वजनिक बौद्धिक वृत्तबाट आएको बहसको मागलाई सकारात्मक भन्दै सामाजिक सञ्जालमा गरिने प्रचारले वास्तविक चरित्र लुकाउन सक्ने भएकाले जनतासामु प्रत्यक्ष उभिनु आवश्यक रहेको तर्क गर्नुभएको छ । उहाँले निर्वाचनमा होमिएका नयाँ तथा पुराना सबै दलका उम्मेदवारहरूलाई आफ्नो रोडम्याप र योजनासहित एउटै मञ्चमा आउन आग्रह गर्दै आफू तथ्य र तथ्याङ्कसहित प्रस्तुत हुने प्रतिबद्धता समेत जनाउनुभएको छ। देशको नेतृत्व गर्न खोज्नेहरूले आफ्ना योजना र विगतको फेहरिस्त जनतालाई प्रस्ट पार्नुपर्ने ओलीको आशय थियो ।

तर, एमाले अध्यक्ष ओलीको यो प्रस्तावलाई झापा–५ मा उहाँका प्रतिस्पर्धी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले भने कडा शब्दमा अस्वीकार गरिदिनुभएको छ । ओलीको प्रस्ताव सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शाहले ओलीसँग एउटै मञ्चमा उभिनु भनेको उहाँका कार्यहरूमा आफ्नो पनि मौन समर्थन रहेको बुझिने भन्दै बहस बहिष्कार गर्ने घोषणा गर्नुभएको हो। बालेनले विगतका घटनाहरूलाई स्मरण गराउँदै गम्भीर आरोप समेत लगाउनुभएको छ ।

बालेनले अत्यन्तै आक्रामक शैलीमा प्रस्तुत हुँदै ७६ जना बालबालिकाको हत्या र त्यसको मतियारसँग कुनै पनि हालतमा एउटै मञ्च साझा नगर्ने अडान लिनुभएको छ। उहाँले ‘आफूलाई देश जलाउने शक्तिको रूपमा स्वीकारेको ठिकै भएको’ भन्दै विगतका हिंसात्मक घटना र आतङ्कवादको विषय नसुल्झिएसम्म यस्ता बहसको कुनै औचित्य नरहेको उल्लेख गर्नुभएको छ । दुई शीर्ष व्यक्तित्वबीचको यो भर्चुअल वाक्युद्धले चुनावी प्रतिस्पर्धालाई थप पेचिलो र आक्रामक बनाएको छ ।


सम्बन्धित समाचार