Logo

२३ चैत,वीरगञ्ज । वीरगंञ्ज महानगरपालिकामा सडकभरि पोलमा टाँगिएको तार अव्यवस्थित हुँदा शहर नै कुरुप देखिएको छ । महानगर अन्र्तगत पर्ने बसर्पाक चोक, लिंकरोड, घण्टाघर, माईस्थान चोक लगायत क्षेत्रमा अव्यवस्थित तारका कारण शहरनै कुरुप देखिएको हो । भने कतिपय क्षेत्र त तारले जमिनसम्मै छोएको छ । यस्तो कुरुप दृश्यले आर्थिक नगरी वीरगञ्जको खिल्ली उडाइरहेको छ ।

महानगरमा नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, इन्टरनेट तथा टेलिफोन सेवा प्रदायक कम्पनीले सडक छेउछाउका पोलमा तार बिछ्याएका छन् । तर, अधिकांश निकायले तार व्यवस्थित गर्न चासो भने नदेखाएका हुन् । तारकै कारण अप्रिय घटनाहरु घट्ने जोखिम रहेको स्थानियले बताएका छन् ।

वीरगञ्ज–८ का स्थानिय रोशन साहले लथालिगं तरिकाले तार बिछ्याईएकै कारण अल्झिएर लड्दा चोटपटक लाग्ने, करेन्ट लाग्ने, आगो लाग्ने जस्ता दुर्घटना निम्त्याउने गरेको बताउनुभयो । यसको व्यवस्थापनमा कसैले चासो नदिएको उहाँको भनाइ छ ।

बिजुलीको पोलहरुमा झुण्डिएको अव्यवस्थित तारको दृश्य महानगरबासीका लागि अहिले सामान्य भईसकेको छ । मुख्य सडक होस् वा कुनै चोक तथा गल्ली सडक विजुली, ईन्टरनेट एवम् केवलको तार जताततै बेरिएको देखिन्छ । कहिकतै त जमिन मै समेत तारहरु चुडिएर लत्रिएका छन् ।

महानगरले पछिल्लो समय तारलाई व्यवस्थित गर्न पहल गरेपनि दुईको एक समेत भएको छैन । महानगरले गत मंसिर १५ गते नै सूचना जारी गरेर अव्यवस्थित तार व्यवस्थापन गर्न ७ दिनको अल्टिमेटम जारी गरेको थियो । सूचना जारी गर्न तम्सिएको महानगर काम गर्न पछि हटेको हो कि भन्ने विषयले सर्वसाधारण चिन्तित भएका छन् । उनीहरुले विद्युत् प्राधिकरण र वीरगञ्ज महानगर मुक दर्शक बनेको आरोप लगाएका छन् ।

यता केहिदिन अघि महानगरले विद्युतको पोलमा अव्यवस्थित रुपमा टाँगिएको तार व्यवस्थापन गर्न सुरु गरेको पनि हो । महानगरमा सेवा प्रवाह गर्दै आएका इन्टरनेट तथा केवल टिभीका प्रतिनिधि सहितको टोलीले अव्यवस्थित तार हटाउने भनिएको थियो । तर त्यो दुईदिन भन्दा बढी चल्न नसकेको देखिएको छ ।

 


सम्बन्धित समाचार