Logo

२४ चैत,वीरगञ्ज । वीरगञ्जको मूर्लिस्थित भरपेट भोजनालय बन्द भएको छ । पचास रुपैयाँमै पेटभरि खाना खुवाउने उक्त भोजनालय खर्च धान्न नसक्दा बन्द भएको हो । करिब १७ महिना सञ्चालन भएपछि गत पुस तेस्रो साता बन्द भएको भोजनालय अझै सञ्चालनमा आउन नसकेको हो । भोजनालय सञ्चालक सेवा प्रमुख रौनकराज सर्राफले बढ्दो महँगीका कारण सञ्चालन लागत बढेपछि भोजनालय बन्द गर्नुपरेको बताउनुभयो ।

उहाँले समाजसेवी तथा विभिन्न संघसंस्थाले घोषणा गरेको सहयोग प्राप्त नभएकै कारण पनि संकट उत्पन्न भएको गुनासो गर्नुभयो । सर्राफले भोजनालयमा मासिक औसत ४ हजारभन्दा बढि मानिसले खाना खाने गरेको उल्लेख गर्नुभयो । साथै उनीहरुले तिर्ने पैसाबाट मासिक करिब २ लाख ७ हजारभन्दा बढि आम्दानी हुने गरेकोमा कर्मचारीको तलब, रासन, तरकारी खर्च र घरभाडा गरी मासिक ८ लाख ८० हजार रुपैयाँ जति खर्च हुने उहाँको भनाई छ ।

सर्राफले भोजनालय संचालनमा आएदेखि रिक्सा चालक, मजदुर, विद्यार्थी, कर्मचारी र सर्वसाधारण गरि करिब ७७ हजार सेवाग्राहीले लाभ लिएको बताउनुभयो । जसबाट ३८ लाख ९ हजार ८ सय १६ रुपैयाँ आम्दानी भएको थियो । सोही अवधिमा भोजनालय सञ्चालन गर्न संस्थाले ५९ लाख ९७ हजार १ सय ४६ रुपैयाँ खर्च गरेको थियो । एक वर्षमै संस्थालाई २० लाख ९७ हजार १ सय ४६ रुपैयाँ रकम अपुग भएको बताईएको छ ।

वीरगन्जका अन्य साधारण होटलमा प्रतिप्लेट खानाको १ सय २० देखि १ सय ५० रुपैयाँ लिईन्छ । तर यता भोजनालयमा भात, दाल, दुईथरी तरकारी, अचार र साग ५० रुपैयाँमा खान दिईन्थ्यो । बिहान ९ देखि दिउँसो १ र साँझ ६ देखि राति ८ बजेसम्म भोजनालयमा खाना खुवाइन्थ्यो । संस्थाले वीरगन्ज महानगरभित्र दैनिक श्रम गरेर खाने कामदारलाई लक्षित गरेर सुपथ मूल्यमा पौष्टिक खाना खुवाउने परिकल्पना गरेको सर्राफको भनाई छ ।

भोजनालय स्थापनामा अमेरिकी संस्था भिजा फाउन्डेशनले सहयोग गरेको थियो । फाउन्डेसन संस्थाले पहिलो कोरोनाकालमा गरेको कामबाट प्रभावित भएको र त्यसपछि पनि विपन्न तथा मजदुर वर्गलाई लक्षित गरेर यसरी सुलभ मूल्यमा खाना खुवाउने व्यवस्था गर्न संस्थालाई प्रेरित गरेको थियो । सामाजिक अभियन्ता प्रकाश थारूले विपन्न र मजदुर वर्गलाई सस्तो मूल्यमा पोषिलो खाना खुवाउने उद्देश्यले सञ्चालित भोजनालय बन्द हुनु दुःखद भएको गुनासो गर्नुभयो । मुर्लीमा गत ०७८ साउन ३१ देखि भरपेट भोजनालय संचालनमा आएको थियो ।


सम्बन्धित समाचार