Logo

१५ माघ, काठमाडौँ । प्रतिनिधिसभा पुनःस्थापनाका लागि रिट दायर गरेका नेपाली कांग्रेसका निवर्तमान सांसदहरूको टोली आज सर्वोच्च अदालत जाने भएको छ । संसद् विघटनविरुद्ध परेको रिटमाथि सुनुवाइ ढिलाइ भएको भन्दै सो टोलीले ‘डेलिगेसन’ मार्फत अदालतको ध्यानाकर्षण गराउन लागेको हो ।

नेपाली कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार सांसदहरूको टोली आज (बिहीबार) माघ १५ गते बिहान साढे १० बजे सर्वोच्च अदालत पुग्ने कार्यक्रम छ । आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन तय भइसकेको अवस्थामा निर्वाचन अगावै रिटको किनारा लाग्नुपर्ने माग सांसदहरूको छ ।

“प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै छ, तर संसद् पुनःस्थापनाको रिटमाथि अन्तिम सुनुवाइको टुङ्गो लागेको छैन,” निवर्तमान प्रमुख सचेतक घिमिरेले भन्नुभयो, “फैसला हाम्रो पक्ष वा विपक्ष जस्तो आए पनि चुनावअघि नै यसको न्यायिक निरूपण हुनुपर्छ भन्ने हाम्रो माग हो।”

यसअघि २०८२ भदौ २३ र २४ को ‘जेनजी’ आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटनको सिफारिस गरेको थियो । उक्त कदम असंवैधानिक भएको दाबी गर्दै कांग्रेसका ८ जना निवर्तमान सांसदहरूले मङ्सिर २३ गते सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

सर्वोच्च अदालतले यसअघि नै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरिसकेको छ भने माघ २० गतेका लागि साधारण तारेख तोकेको छ । यद्यपि, मुद्दाको गाम्भीर्य र निर्वाचनको समयसीमालाई मध्यनजर गर्दै छिटो फैसलाका लागि दबाब दिन सांसदहरू आफैँ अदालत पुग्न लागेका हुन् ।


सम्बन्धित समाचार