Logo

फाईल फोटो

१५ माघ, वीरगञ्ज । मधेसको भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यका साथ वीरगञ्जमा आज (बिहीबार) देखि ‘दोस्रो मधेश साहित्य महोत्सव’ सुरु हुँदैछ । मधेस विश्वविद्यालयको परिसरमा आयोजना हुने यस तीन दिने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था उत्कर्ष नेपालले जनाएको छ ।

महोत्सवको औपचारिक उद्घाटन मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गर्ने कार्यक्रम रहेको छ । उद्घाटन सत्रमा ‘गाँव: स्मृति, मिथक र यथार्थ’ विषयमा भाष्कर गौतमले बीजपत्र प्रस्तुत गर्नेछन् । आयोजक संस्थाका अध्यक्ष रितुराज साहका अनुसार महोत्सवले मधेसको साहित्यिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनुका साथै युवा पुस्तालाई साहित्यतर्फ आकर्षित गर्ने लक्ष्य राखेको छ ।

महोत्सवमा साहित्यका साथै समसामयिक सामाजिक र राजनीतिक विषयमा केन्द्रित रहेर विभिन्न सत्रहरू सञ्चालन गरिनेछ। जसमा ‘गाँवका युवा: पलायन, पोलिसी र विकल्प’ सत्रमा वसन्तकुमार कुशवाहा, भोगेन्द्र झा र सलोनी प्रधान सिंहले मधेसबाट भइरहेको युवा पलायन र नीतिगत समाधानका बारेमा चर्चा गर्नेछन् ।

त्यसैगरी, ‘गाँव: लोकतन्त्र र सत्ता’ विषयक सत्रमा सुरेश ढकाल, सुचेता प्याकुरेल र सविन निङ्ग्लेखुले ग्रामीण लोकतन्त्र र शक्ति सन्तुलनका विषयमा विमर्श गर्नेछन् । मधेसको इतिहास र स्मृतिको खोजीका लागि ‘गाँव: स्मृति र इतिहास’ सत्रमा गोपाल ठाकुर, अन्जय मिश्रा, त्रिभुवन बरई र राकेश मिश्र वक्ताका रूपमा रहने आयोजकले जनाएको छ ।

देशभरका साहित्यकार, लेखक, कवि र चिन्तकहरूको सहभागिता रहने यस महोत्सवमा कविता वाचन, पुस्तक विमोचन, साहित्यिक विमर्श र सांस्कृतिक कार्यक्रमहरू समेत प्रस्तुत गरिनेछ । तीन दिनसम्म चल्ने यो महोत्सवले मधेसको ओझेलमा परेका कथा र व्यथाहरूलाई मूलधारमा ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको छ ।


सम्बन्धित समाचार
भर्खरै