१६ माघ, वीरगञ्ज। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी माहोल तातेको छ। मधेस प्रदेशको राजनीतिक दृष्टिले संवेदनशील मानिने पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ मा पनि चुनावी गतिविधि तीव्र बनेका छन्।
निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरू घरदैलो अभियानमा सक्रिय देखिएका छन्। यही क्रममा प्रगतिशील लोकतान्त्रिक पार्टीका पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अमिताभ बच्चन दासले कुहडी र घुर्मी क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलोका क्रममा उम्मेदवार दासले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना चुनावी एजेन्डा प्रस्तुत गरेका थिए। कार्यक्रममा सहभागी स्थानीय मतदाताहरूले आँखा छापमा मतदान गर्दै दासलाई विजयी गराउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
स्थानीयको समर्थन र उत्साहले चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको देखिन्छ।