Logo

Screenshot

१७ माघ, वीरगञ्ज । खुट्टामा गहिरो चोटका कारण हिँडडुल गर्न गाह्रो अवस्था रहे पनि पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता अजयकुमार चौरसियाले स्वास्थ्यको प्रवाह नगरी लौरो टेकेरै पर्सा निर्वाचन क्षेत्र नं. २ मा चुनावी अभियानलाई आक्रमक रूपमा अघि बढाएका छन्।

निर्वाचनको समय नजिकिँदै जाँदा आरामको आवश्यकता भए पनि चौरसियाले जनताको बीचमै रहने निर्णय गर्दै वीरगञ्ज महानगरपालिका वडा नं. २६ मा बिहानैदेखि घरदैलो तथा मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्।

अभियानका क्रममा उनले कांग्रेसको पक्षमा भावनात्मक अपील मात्र गरेनन्, देशको भविष्यप्रति गम्भीर चिन्ता व्यक्त गर्दै चेतावनीसमेत दिए। चौरसियाले भने,
“आज म लौरो टेकेर आएको छु, तर देश लडखडिन नदिने जिम्मेवारीबाट पछि हटेको छैन। कांग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुन्छ, देश अस्थिर बन्छ।”

कांग्रेसको ऐतिहासिक योगदान स्मरण गराउँदै उनले आक्रमक शैलीमा प्रश्न उठाए,
“देश संकटमा पर्दा सडकमा को थियो ? राजतन्त्रदेखि बन्दुक बोकेकासँग कसले लड्यो ? कांग्रेसले संघर्ष गरेर शान्ति ल्यायो। आज फेरि कांग्रेसलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको छ।”

उनले यस पटक कांग्रेसले बहुमत नल्याए बाह्य शक्तिहरूले देशलाई प्रयोगशाला बनाउने खतरा रहेको दाबी गर्दै भने,
“देशलाई रणभूमि बन्नबाट जोगाउने शक्ति कांग्रेस मात्रै हो।”

विकासका विषयमा पनि चौरसिया कडा देखिए। आफूले पर्सा–२ मा सधैं विकासलाई प्राथमिकतामा राखेको दाबी गर्दै उनले भने,
“मैले यो क्षेत्रलाई राजनीतिक प्रयोगशाला बन्न दिएको छैन। विजयी भए वृद्धाआश्रम, पुल, विश्वविद्यालय, सडक र आवश्यक भौतिक संरचना निर्माण गर्छु। काम नगरे अर्को चुनावमा उम्मेदवार नै बन्दिन।”

चोटका बाबजुद घरदैलो अभियानमा सक्रिय देखिएको दृश्यले धेरै मतदातालाई भावुक बनाएको छ। एक स्थानीय वृद्ध मतदाताले भने,
“हामी हिँड्न नसक्दा घरमै बस्छौं, उहाँ चोट बोकेर हामीकहाँ आइपुग्नुभएको छ, यो समर्पण हो।”

पर्सा–२ मा चुनावी माहोल तातिँदै जाँदा अजयकुमार चौरसियाको आक्रमक अभिव्यक्ति, भावनात्मक अपील र ‘देश जोगाउने’ एजेन्डाले चुनाव निर्णायक मोडतर्फ अघि बढिरहेको संकेत देखिएको छ।


सम्बन्धित समाचार