Logo

१७ माघ,काठमाडौं ।  जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सङ्घीयता विरोधी पार्टी भएको आरोप लगाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै राउतले रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले पारित गरेको नीति नै सङ्घीयताविरोधी रहेको दाबी गरेका छन्। उनले निर्वाचनको मुखमा पार्टीका कुनै एक नेताले मधेशको मत तान्न दिएको अभिव्यक्तिको कुनै अर्थ नहुने स्पष्ट पारेका छन्।

राउतको यो प्रतिक्रिया रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले मधेशको राजधानी जनकपुरधाममा आयोजित कार्यक्रममा ‘सङ्घीयतालाई बलियो बनाउँदै अघि बढ्ने’ बताएका अभिव्यक्तिपछि आएको हो।

फेसबुकमा राउतले लेखेका छन्,
“पार्टीका कुनै एक व्यक्तिले मधेशको मत तान्न निर्वाचनको मुखमा दिएको अभिव्यक्तिले चल्ने होइन, पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले पारित गरेको नीतिले चल्ने हो।”

उनले रास्वपाले निरन्तर रूपमा सङ्घीयता खारेज गर्ने एजेन्डा अघि बढाउँदै आएको दाबी गर्दै मधेशले सङ्घीयताविरोधी शक्तिलाई पराजित गर्नु नै मधेशी शहीदप्रतिको सम्मान हुने बताएका छन्।

राउतले भनेका छन्,
“सङ्घीयता खारेज गर्नु रास्वपाको निरन्तरको एजेन्डा रहँदै आएको छ, पार्टीले बैठकबाट निर्णय नै गरेको कुरा हो। यसर्थ मधेश यी सङ्घीयताविरोधी शक्तिलाई पराजित गर्दै अगाडि बढ्नेछ, त्यो नै मधेशी शहीदको सम्मान हुनेछ।”


सम्बन्धित समाचार