१७ माघ, काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ। आयोगले सातवटै प्रदेशका क्षेत्रको मतपत्र नमूना जारी गरेको जनाएको छ।
त्यसअनुसार, एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको मतपत्र र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको फरक–फरक मतपत्रको नमूना समेत सार्वजनिक गरिएको छ। नमूना मतपत्र मतदाता शिक्षाका लागि प्रयोग गरिनेछ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारको सङ्ख्याका आधारमा पनि मतपत्रको नमूना तयार पारिएको छ। उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रका मतपत्रको आकार तुलनात्मक रूपमा ठूलो र कम उम्मेदवार भएका क्षेत्रमा सानो मतपत्र छापिएको छ।
एउटा मात्र निर्वाचन क्षेत्र भएका कर्णाली प्रदेशका सल्ल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा तथा दैलेख र सुर्खेतमा दुई–दुई निर्वाचन क्षेत्र रहेका छन्।
सुदूरपश्चिम प्रदेशमा बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरामा एउटा मात्र निर्वाचन क्षेत्र कायम छ। अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र रहेका छन्। यी सबै निर्वाचन क्षेत्रका मतपत्रको नमूना आयोगले सार्वजनिक गरेको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्रको छपाइ पनि भइसकेको छ।
















