Logo

१७ माघ,वीरगञ्ज । पर्साका चार सयभन्दा बढी जेन्जी युवाहरू राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० मा प्रवेश गरेका छन्। आइतबार वीरगञ्जको रोयल पार्टी प्यालेसमा आयोजित कार्यक्रममा जेन्जी युवा नेता परबेज सेखको नेतृत्वमा ठूलो संख्यामा युवाहरू रास्वपामा प्रवेश गरेका हुन्।

पार्टी प्रवेश गर्नेहरूमा कमलेश पटेल, रन्जित साह कल्वार, साहिल सेख, सन्नी अली, आनन्द चौहान, अजय पण्डित, सेख अल्ताफ, प्रियञ्जन यादव, सञ्जीत साह, दानिश सेख लगायतका चार सयभन्दा बढी जेन्जी युवाहरू रहेका छन्।

रास्वपामा प्रवेश गर्दै जेन्जी नेता परबेज सेखले राष्ट्रिय स्वतन्त्र पार्टीले मात्र मुलुक परिवर्तन गर्न सक्ने दाबी गर्दै पर्साका जेन्जी युवाहरू अब रास्वपालाई जिताउन एकजुट भएर लाग्ने बताए। उनले जेन्जी युवा नेताहरू सुदन गुरुङ, पुरुषोत्तम यादव लगायतका प्रभावशाली जेन्जी नेताहरू पहिल्यै रास्वपामा प्रवेश गरिसकेको उल्लेख गर्दै अब रास्वपाले नै जेन्जी आन्दोलनलाई सम्बोधन गर्न सक्ने विश्वास व्यक्त गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा पर्सा सभापति तथा पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार हरि पन्तले जेन्जी युवाहरूलाई आफ्नो पार्टीको सबैभन्दा ठूलो सम्पत्ति भएको बताए। युवाहरूको साथ पाएकाले आफू ढुक्कसँग निर्वाचन जित्ने दाबी गर्दै उनले चुनावमा हुने पैसाको चलखेललाई कानुनसम्मत तरिकाले रोक्न युवाहरूलाई सक्रिय भूमिका खेल्न निर्देशन दिए।


सम्बन्धित समाचार
भर्खरै