Logo

२० माघ, वीरगञ्ज । आगामी फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संगठन विस्तार र चुनावी अभियानलाई आक्रामक बनाएको छ । “पुरानो दलको विकल्प र नयाँको आशा” भन्ने नाराका साथ अघि बढेको रास्वपामा वीरगञ्ज महानगरपालिका-२३ सबैठवाका सयौँ ‘जेनजी’ (Gen-Z) युवाहरू सामूहिक रूपमा प्रवेश गरेका छन् ।

सबैठवामा आयोजित एक भव्य कार्यक्रमका बीच रोशन यादव र रवि यादवको नेतृत्वमा रहेका सयौँ युवाहरूलाई रास्वपा पर्साका सभापति एवं पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार हरि पन्तले पार्टीमा स्वागत गरे । नवप्रवेशी युवाहरूलाई सम्बोधन गर्दै पन्तले भने, “भदौ २३ र २४ को ऐतिहासिक जेनजी विद्रोहले नै मुलुकलाई आज परिवर्तनको यो संघारमा उभ्याएको हो । ती वीर युवाहरूको सपना र विद्रोहको भावनालाई रास्वपाले मात्रै राजनीतिक नेतृत्व दिन सक्छ ।”

उनले युवाहरूको यो अभूतपूर्व लहरले पर्सामा रास्वपाको जित सुनिश्चित भइसकेको दाबी समेत गरे ।

यसैबीच, रास्वपाले वीरगञ्जको पिपरामा आफ्नो सांगठनिक उपस्थिति मजबुत बनाउँदै ५१ सदस्यीय ‘निर्वाचन परिचालन कमिटी’ गठन गरेको छ । कृष्ण पटेलको नेतृत्वमा गठित उक्त कमिटीले पिपरा क्षेत्रमा घरदैलो र मतदाता शिक्षा अभियानलाई तीव्रता दिनेछ । कमिटी गठन लगतै रास्वपाका उम्मेदवार र नेताहरूले पिपराका विभिन्न टोलमा घरदैलो गरी घण्टी चिह्नमा मतदान गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा रास्वपाका जिल्ला सचिव सुदिश प्रजापति, महानगर सभापति अमन आलम, सचिव गौतम श्रेष्ठ र क्षेत्रीय सभापति राम आर्य लगायतका नेताहरूको उपस्थिति रहेको थियो । पछिल्लो समय सामाजिक सञ्जाल र भौतिक उपस्थिति दुवैमा रास्वपाले युवा पुस्तालाई आकर्षित गरेपछि पर्साको चुनावी समीकरणमा ठूलो फेरबदल आउने संकेत देखिएको छ ।


सम्बन्धित समाचार