Logo

२० माघ,सेढवा। जनता समाजवादी पार्टी, नेपालबाट पर्सा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा उम्मेदवार डा. कृपासिन्धु चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, भौतिक पूर्वाधार र पर्यटनलाई विकासका मुख्य आधार बनाउँदै व्यापक चुनावी प्रतिबद्धापत्र सार्वजनिक गर्नुभएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भए संसद्मा सशक्त भूमिका निर्वाह गर्दै क्षेत्र तथा देशका साझा समस्याको समाधानमा केन्द्रित रहने उम्मेदवार चौधरीले बताउनुभयो। उहाँले विकास र समृद्धिका लागि नीति निर्माणदेखि कार्यान्वयनसम्म सक्रिय रहने प्रतिबद्धता जनाउनुभयो।

घोषणापत्रमा शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिएको छ। सामुदायिक विद्यालय र उच्च शिक्षाको गुणस्तर सुधार, SEE नतिजा अभिवृद्धि तथा गणित, विज्ञान, अंग्रेजी र कम्प्युटर शिक्षालाई प्रभावकारी बनाउने योजना अघि सारिएको छ। साथै, Education with Skill अवधारणाअनुसार CTEVT मार्फत सीपमूलक, प्राविधिक तथा व्यावसायिक तालिम सञ्चालन गरी युवालाई आत्मनिर्भर बनाइने उल्लेख गरिएको छ।

स्वास्थ्य क्षेत्रअन्तर्गत पर्सा क्षेत्र नं. ४ का प्रदेशसभा क्षेत्र (क) र (ख) मा कम्तीमा एक–एक वटा अस्पताल सञ्चालन गर्ने प्रतिबद्धता घोषणापत्रमा समावेश गरिएको छ। बालबालिका, महिला र युवाको मानसिक तथा शारीरिक स्वास्थ्य प्रवर्द्धनका लागि खेलकुद पूर्वाधार विकास, प्रतियोगिता आयोजना तथा योग, ध्यान र प्राणायाम कार्यक्रम सञ्चालन गरिने बताइएको छ।

कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि र बजार व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको छ। सिँचाइ सुविधा विस्तार, आधुनिक प्रविधिको प्रयोग, कृषकलाई तालिम र प्रोत्साहन कार्यक्रममार्फत कृषि पेशालाई व्यवस्थित बनाइने प्रतिबद्धता घोषणापत्रमा उल्लेख छ।

रोजगारी सिर्जनाका लागि स्थानीय स्तरमै साना तथा घरेलु उद्योग स्थापना, सीपमूलक तालिम सञ्चालन र युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने योजना अघि सारिएको छ। यसका लागि सहुलियत ऋण तथा प्रविधि सहयोग प्रदान गरिने उल्लेख गरिएको छ।

भौतिक पूर्वाधार विकासतर्फ सडक सञ्जाल विस्तार, नदी नियन्त्रण, पुल तथा आवश्यक संरचना निर्माणलाई प्राथमिकतामा राखिएको छ। यसले शिक्षा, स्वास्थ्य र बजार पहुँच सहज बनाउने उम्मेदवार चौधरीको भनाइ छ।

पर्यटन क्षेत्रको विकासका लागि ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक स्थलको संरक्षण र प्रवर्द्धन गर्ने योजना पनि घोषणापत्रमा समावेश गरिएको छ। गढी, मन्दिर, मस्जिदलगायत धार्मिक स्थलको मर्मत–सम्भार गरी पर्यटनमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाइने उल्लेख छ।

उम्मेदवार चौधरीले आफू निर्वाचित भए जनताको दुःख–सुखमा साथ दिँदै संसद्मा क्षेत्रका आवाज बुलन्द गर्ने, समावेशी विकास र सुशासनका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।


सम्बन्धित समाचार