२० माघ, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार हरि पन्तले मधेस आन्दोलनका सहिद दिलिप चौरसियाको परिवारसँग भेटघाट गरेका छन्।
रास्वपाले आज आयोजना गरेको वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुरको घरदैलो कार्यक्रममा उम्मेदवार पन्तले सहिद दिलिप चौरसियाकी आमा रामज्योती देवी र दाजु पृथ्वी नारायण चौरसियालगायत परिवारका सदस्यहरूसँग भेट गरेका हुन्।
भेटघाटका क्रममा सहिद परिवारले मधेस आन्दोलनको जगमा राजनीति गरेर पछि मधेसीमाथि गोली चलाउने दलहरूसँग सहकार्य गरेर आन्दोलनकै अपमान गरिएकोप्रति दुःख व्यक्त गरे। उनीहरूले अबदेखि राष्ट्रिय स्वतन्त्र पार्टीलाई पूर्ण समर्थन रहने प्रतिबद्धता पनि जनाएका थिए।
उक्त भेटमा उम्मेदवार पन्तले मधेस आन्दोलनका सहिदहरूलाई पनि जनआन्दोलनका सहिदसरह राज्यबाट सम्मान र व्यवहार सुनिश्चित गराउन आफूले निरन्तर दबाब दिने प्रतिबद्धता व्यक्त गरे।
यसैबीच, रास्वपाको तर्फबाट आयोजित जगरनाथपुरको घरदैलो कार्यक्रममा स्थानीयवासीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। कार्यक्रम वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुरमा ठूलो उपस्थितिका साथ सफलतापूर्वक सम्पन्न भएको रास्वपाले जनाएको छ।
मंगलबार सम्पन्न घरदैलो कार्यक्रमको सुरुवात श्रीराम जानकी मन्दिरमा पूजा–अर्चना गरेर गरिएको थियो। त्यसपछि जगरनाथपुर चौकबाट सुरु भएको कार्यक्रम वडाभित्रका विभिन्न टोलहरूमा सञ्चालन गरिएको थियो।
घरदैलोका क्रममा उम्मेदवार पन्तले स्थानीय नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नीति, उद्देश्य र भावी योजनाबारे जानकारी गराएका थिए। स्थानीय बासिन्दाहरूले शिक्षा, रोजगारी, खानेपानी, सरसफाइ, सडक, स्वास्थ्य र सुशासनसँग सम्बन्धित समस्या तथा सुझावहरू राखेका थिए। पन्तले ती सबै विषयहरू नोट गर्दै समाधानमुखी पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा रास्वपाका नेता–कार्यकर्ता, स्थानीय युवा, महिला तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
निर्वाचन परिचालन समिति वीरगञ्ज–२२ जगरनाथपुरका संयोजक युवराज पटेलले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण स्थानीयवासी, पार्टी कार्यकर्ता तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी दिनहरूमा पनि जनस्तरसँग प्रत्यक्ष संवाद र सहभागितामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
















