Logo

२१ माघ, काठमाडौँ । देशभर स्वास्थ्य बीमा सेवा अवरुद्ध हुने संकेत देखिन थालेपछि प्रधानमन्त्री सुशीला कार्कीले यस विषयमा गम्भीर चासो व्यक्त गरेकी छन्। बीमामा देखिएका समस्या, अस्पतालको गुनासो र सेवाग्राहीको असहजता समाधानका लागि प्रधानमन्त्री कार्कीले बुधबार सरोकारवाला निकायहरूको संयुक्त बैठक आह्वान गरेकी हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो १ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ। बैठकमा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य बीमा बोर्ड, ठूला अस्पतालका प्रतिनिधि तथा अन्य सम्बन्धित निकायलाई सहभागी गराइने जनाइएको छ ।

पछिल्लो समय रकम अभावका कारण स्वास्थ्य बीमाबाट उपचार पाउने बिरामीहरू समस्यामा परेका छन् । देशका ठूला अस्पतालहरूले नै बीमा सेवा दिन नसक्ने भन्दै सार्वजनिक सूचना निकाल्न थालेपछि अवस्था थप जटिल बनेको हो ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जले स्वास्थ्य बीमा बोर्डले अस्पताललाई करिब ४० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाउँदै बीमा सेवा दिन नसक्ने सूचना जारी गरेको थियो । यस्तै समस्या अन्य अस्पतालहरूमा पनि देखिन थालेपछि बीमा प्रणालीको दिगोपनमाथि प्रश्न उठेको छ ।

बढ्दो दबाबका बीच स्वास्थ्य बीमा बोर्डले गत सोमबार नयाँ व्यवस्था सार्वजनिक गर्दै एक आर्थिक वर्षमा बहिरंग (ओपिडी) सेवाअन्तर्गत अधिकतम २५ हजार रुपैयाँसम्म मात्र उपचार सुविधा उपलब्ध गराइने जनाएको छ। सो सीमा नाघेपछि मात्रै अस्पताल भर्ना, प्रयोगशाला परीक्षण तथा आकस्मिक उपचार सेवा लागू हुने बोर्डको निर्णय छ । उक्त व्यवस्था आगामी फागुन १ गतेदेखि कार्यान्वयनमा ल्याइनेछ ।

स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार बीमा रकम समयमै भुक्तानी नहुनु, सेवा सीमित गर्नु र अस्पताल बीमा बोर्डबीच समन्वय कमजोर हुनु नै अहिलेको संकटको मुख्य कारण हो। प्रधानमन्त्रीको चासोपछि बोलाइएको बैठकले स्वास्थ्य बीमा प्रणालीलाई पुनः प्रभावकारी बनाउने ठोस निर्णय लिने अपेक्षा गरिएको छ ।

सरकारले स्वास्थ्य बीमालाई सर्वसाधारणको पहुँचमा राख्ने नीति लिएको भए पनि व्यवहारमा देखिएका समस्याले सेवाग्राहीहरू निराश बन्दै गएका छन्। आजको बैठकले संकटग्रस्त स्वास्थ्य बीमामा नयाँ दिशा दिने कि नदिने भन्ने चासो सबैको केन्द्रमा छ ।


सम्बन्धित समाचार