२१ माघ, वीरगञ्ज । मधेश आन्दोलनका क्रममा गोली लागेर जीवनभरको पीडा बोकेका ‘जिउँदो सहिद’ मुन्सी पटेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा क्षेत्र नं. २ का उम्मेदवार शुशिल साह कानुले अस्पतालमै पुगेर भेट गरेका छन् । नारायणी अस्पतालमा उपचाररत पटेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन कानु चिकित्सक र परिवारका सदस्यसँग कुराकानी गरेका हुन् ।
वीरगञ्ज महानगरपालिका-२८, बगही निवासी पटेल मधेश आन्दोलनका बेला राज्यको गोलीबाट गम्भीर घाइते भएका थिए । लामो समयदेखि उपचाररत रहे पनि उनको स्वास्थ्य अवस्था अझै पूर्ण रूपमा सामान्य भइनसकेको र निरन्तर चिकित्सकीय निगरानी आवश्यक रहेको अस्पताल स्रोतले जनाएको छ ।
भेटका क्रममा उम्मेदवार कानुले मधेश आन्दोलनमा मुसी पटेलले गरेको त्याग र भोग्नुपरेको पीडालाई स्मरण गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरे । उनले मधेशका आवाज राष्ट्रिय राजनीतिमा स्थापित हुन यस्ता बलिदानहरूको निर्णायक भूमिका रहेको उल्लेख गर्दै आन्दोलनका घाइते र सहिद परिवारप्रति राज्यले अझै न्याय गर्न नसकेको टिप्पणी गरे ।
“गोली लागेर बाँच्नु मात्रै जीवन होइन, सम्मान र उपचार पनि राज्यको जिम्मेवारी हो,” कानुले भने, “जिउँदो सहिदहरूको अवस्था आज पनि पीडादायक छ, यो विषय बेवास्ता गर्न मिल्दैन।”
उनले मधेश आन्दोलनका घाइते र सहिद परिवारको उपचार, सम्मान र पुनःस्थापनाका लागि आफू संसददेखि सडकसम्म आवाज उठाउने प्रतिबद्धता समेत व्यक्त गरे। स्थानीयवासीहरूले पनि राजनीतिक दल र नेतृत्वले आन्दोलनका जिउँदा सहिदप्रति निरन्तर चासो र जिम्मेवारी देखाउनुपर्ने माग गरेका छन् ।
नारायणी अस्पतालको एउटा शय्यामा बसेर पनि मधेश आन्दोलनको कथा बोलिरहने मुसी पटेलसँगको यो भेट चुनावी औपचारिकताभन्दा बढी संवेदनशीलता र स्मरणको सन्देश बोकेको देखिएको छ ।
















