२१ माघ, काठमाडौं , विश्व क्यान्सर दिवसु को सन्दर्भ पारेर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले मानव स्वास्थ्यमाथि गम्भीर चुनौती थपिएको देखाएको छ ।
फेब्रुअरी ४ का दिन विश्वभर विभिन्न चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइँदै गर्दा क्यान्सरका कारण हरेक वर्ष विश्वभर करिब १० लाख मानिसले अकालमा ज्यान गुमाउने गरेको भयावह तथ्य बाहिर आएको हो । सन् २००० मा फ्रान्सको पेरिसमा सम्पन्न ‘नयाँ सहस्राब्दीका लागि क्यान्सरविरुद्ध विश्व शिखर सम्मेलन’ ले पारित गरेको ‘चार्टर अफ पेरिस अगेन्स्ट क्यान्सर’ पछि यो दिवसलाई अन्तर्राष्ट्रिय स्तरमै व्यापक सचेतना फैलाउने अभियानका रूपमा मनाउन थालिएको हो ।
विशेषज्ञहरूका अनुसार क्यान्सरको जोखिम बढ्नुमा मानिसको बदलिँदो र अस्वस्थ जीवनशैली मुख्य जिम्मेवार देखिएको छ । धूमपान र तमाखुजन्य पदार्थको अत्यधिक सेवन क्यान्सरको प्रमुख कारकका रूपमा रहेको डब्ल्यूएचओको प्रतिवेदनमा उल्लेख छ। यसका साथै व्यायामको कमी, मदिरापान र अस्वस्थ खानपानले गर्दा शरीरमा क्यान्सरका कोषहरू विकसित हुने सम्भावना बढ्दै गएको छ । समयमै रोगको पहिचान हुन सके र जीवनशैलीमा सुधार ल्याउन सके यो रोगबाट बच्न सकिने भन्दै चिकित्सकहरूले रोकथामका उपायमा जोड दिएका छन् ।
नेपालमा पनि यस वर्ष ‘क्लोज द केयर ग्याप’ (उपचारको पहुँचमा रहेको खाडल हटाऔँ) भन्ने मूल नाराका साथ विभिन्न स्वास्थ्य संस्था र सरकारी निकायहरूले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन् । क्यान्सर विरुद्धको लडाइँमा समयमै रोगको पहिचान, उचित उपचार र स्क्रिनिङ विधिको ठूलो महत्व रहेको स्वास्थ्य विज्ञहरूको धारणा छ ।
सरकारले क्यान्सर उपचारमा सहुलियत र पूर्वाधार विस्तारमा जोड दिए तापनि आम नागरिक स्तरमा अझै पनि यो रोगप्रति रहेका भ्रम र ढिलाइले उपचार प्रक्रियालाई चुनौतीपूर्ण बनाइरहेको छ ।
















