Logo

२२ माघ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सारिएका वरिष्ठ नेता बालेन शाह फागुनको पहिलो हप्तादेखि संयुक्त रूपमा देश दौडामा निस्कने भएका छन्।

पार्टीका अनुसार दुवै नेताले कम्तीमा सातै प्रदेशमा ठूला चुनावी सभा गर्ने तयारी भइरहेको छ। रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले सात प्रदेशमा केन्द्रीय स्तरका सभा आयोजना गर्ने खाका सचिवालयले तयार गरिरहेको जानकारी दिइन्। ती सभाको संयोजन उपसभापति डिपी अर्यालले गरिरहेका छन् भने सभास्थल भने हालसम्म तय भइनसकेको उनले बताइन्।

यसअघि वरिष्ठ नेता बालेन शाह कोशी प्रदेशका तराई तथा पहाडी जिल्लाको भ्रमणमा सक्रिय रहेका थिए। केही समयअघि सुदूरपश्चिम र कर्णाली प्रदेशका केही भागको भ्रमण गरी पुनः झापा पुगेका शाहले आफ्नो निर्वाचन क्षेत्र झापा–५ का मतदातासँग भेटघाट गरेका थिए। त्यसपछि उनी कोशी प्रदेशकै पहाडी जिल्ला उदयपुर र खोटाङ पुगेका छन्। हाल उनी त्यही क्षेत्रमा पार्टीका उम्मेदवार, निर्वाचन परिचालन समितिका पदाधिकारी, सदस्य तथा मतदातासँग भेटघाटमा सक्रिय छन् र केही दिन यस्तै कार्यक्रममै व्यस्त रहने जनाइएको छ।

यसैबीच रास्वपा सभापति रवि लामिछाने आजदेखि आफ्नो निर्वाचन क्षेत्र चितवन जाने भएका छन्। उम्मेदवारी दर्ताका दिन सहकारीसम्बन्धी मुद्दाको तारेखका कारण उनले वारेसमार्फत् उम्मेदवारी दर्ता गरेका थिए। त्यसपछि स्वास्थ्य समस्याका कारण घरमै आराम गरिरहेका लामिछाने आज पुनः चुनावी गतिविधिमा सक्रिय हुन लागेका हुन्।

सहप्रवक्ता रावलका अनुसार सभापति लामिछाने आज बिहान ११ः१५ बजे चितवन प्रस्थान गर्नेछन्। दिउँसो १२ः१५ बजे भरतपुरस्थित लंकुमा रहेको लक्ष्मीनारायण मन्दिरमा पूजा कार्यक्रममा सहभागी हुने कार्यसूची रहेको छ।

रास्वपाले चितवन–२ को चुनावी प्रयोजनका लागि भरतपुर महानगरपालिका–११ विशालचोकमा एक घर भाडामा लिएको छ। सोही निवासमा आज गृह प्रवेश कार्यक्रम आयोजना गरिनेछ। दिउँसो २ बजेपछि उक्त निवासमै निर्वाचन परिचालन समिति, अन्य उम्मेदवार, नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यसूची तय भएको रावलले जानकारी दिइन्।


सम्बन्धित समाचार