२२ माघ,वीरगञ्ज । नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार अनिल रुङ्गटाले वीरगञ्ज महानगरपालिका वडा नं. २३ प्रसौनी क्षेत्रमा घरदैलो अभियान सञ्चालन गर्दै स्थानीय नागरिकसँग भेटघाट गरेका छन्।
घरदैलो अभियानका क्रममा प्राप्त जनसमर्थनले आफूलाई थप जिम्मेवार र उत्साहित बनाएको उम्मेदवार रुङ्गटाले बताएका छन्। उनले मतदाताको विश्वास नै आफ्नो प्रमुख शक्ति भएको उल्लेख गर्दै जनताको सुख–दुःखमा सधैं साथ रहने प्रतिबद्धता व्यक्त गरे।
रुङ्गटाले विकास र सुशासनलाई आफ्नो प्राथमिकतामा राख्दै पर्सा क्षेत्र नं. १ लाई नमुना निर्वाचन क्षेत्रका रूपमा विकास गर्ने दृढ संकल्प दोहोर्याए। साथै कांग्रेसको जित जनताको जित हुने स्पष्ट पार्दै उनले पार्टीका सबै नेता, कार्यकर्ता र समर्थकहरूलाई एकताबद्ध भई चुनावी अभियानलाई अझ प्रभावकारी बनाउन आह्वान गरे।
आज सम्पन्न घरदैलो कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय दिवेदी, क्षेत्रीय सभापति अरबिन्द गुप्ता, उपसभापति अनिल सिंह, पूर्व क्षेत्रीय सभापति विजय सर्राफसहित जितेन्द्र पुरुष ढकाल, मनोजा चौधरी, किरण सरकार, सुरेन्द्र लामिछाने, रामनिवास यादव लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
















