Logo

२४ माघ, काठमाडौँ । निर्वाचनको पूर्वसन्ध्यामा सामाजिक सञ्जाल प्रयोग बढ्दै गइरहेका बेला नेपाल प्रहरीले यसको दुरुपयोगप्रति गम्भीर चासो व्यक्त गर्दै कडा निगरानी बढाएको जनाएको छ । विशेषगरी युवा पुस्ता सामाजिक सञ्जालमा अत्यधिक सक्रिय भइरहेका कारण संवेदनशील समयमा गलत सूचना, गालीगलौज तथा चरित्रहत्या हुने गतिविधि बढ्न सक्ने भन्दै प्रहरीले सचेत रहन आग्रह गरेको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब उपरीक्षक अविनारायण काफ्लेका अनुसार सामाजिक सञ्जालमार्फत मित्थ्या सूचना प्रवाह, भ्रम सिर्जना गर्ने सामग्री प्रकाशन तथा सेअर गर्ने गतिविधिमाथि उच्च निगरानी राखिएको छ । यसका लागि विशेष टोली नै गठन गरेर अनुगमन भइरहेको उनले जानकारी दिए। साथै, प्रहरीको साइबर ब्यूरोले पनि सूक्ष्म रूपमा डिजिटल गतिविधिहरूको निगरानी गरिरहेको बताइएको छ ।

प्रवक्ता काफ्लेले सामाजिक सञ्जाल तथा अनलाइन माध्यम प्रयोग गरी गलत सूचना फैलाउने, जातीय, धार्मिक, सामाजिक तथा साम्प्रदायिक सद्भाव बिगार्ने, व्यक्तिको चरित्रहत्या गर्ने तथा शान्ति–सुरक्षामा असर पर्ने सामग्री उत्पादन वा प्रसारण गर्नु कानुनविपरीत कार्य भएको स्पष्ट पारे ।

उनले कुनै पनि घटना, अभिव्यक्ति, तस्बिर वा भिडियोलाई काँटछाँट गरी झुट्टो वा भ्रामक सन्देश फैलाउने उद्देश्यले प्रयोग नगर्न र त्यस्ता सामग्रीलाई लाइक, सेअर वा कमेन्टमार्फत प्रोत्साहन नगर्न पनि सर्वसाधारणलाई आग्रह गरे ।

कानुनविपरीतका सामग्री उत्पादन, प्रचारप्रसार वा समर्थन गर्नु पनि अपराधको दायरामा पर्ने उल्लेख गर्दै प्रहरीले अनलाइनमा देखिएका सामग्री सेअर गर्नुअघि सत्य–तथ्य बुझ्न सबैलाई अनुरोध गरेको छ ।

प्रहरीले सार्वजनिक अपिल गर्दै सुरक्षित, सभ्य र सकारात्मक डिजिटल वातावरण निर्माणमा सबै नागरिकको भूमिका महत्त्वपूर्ण रहने जनाएको छ। “जिम्मेवार नागरिक बनौँ, समाजमा शान्ति तथा सद्भाव कायम राख्न सबैले सहयोग गरौँ,” प्रहरीको आह्वानमा उल्लेख छ ।


सम्बन्धित समाचार