Logo

२८ चैत,वीरगञ्ज । वीरगञ्जस्थित नर्सिङ क्याम्पसमा विद्यार्थीलाई दुव्र्यवहार गर्नेलाई कारवाहीको माग गर्दै नेपाल विद्यार्थी सङ्घले ज्ञापन पत्र बुझाएको छ । नेविसङ्घ पर्साका अध्यक्ष रमेश यादव नेतृत्वको टोलीले हिजो साँझ पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललाई ज्ञापन पत्र बुझाउँदै विद्यार्थीलाई गालीगलौज गर्दै हातपात गर्ने क्याम्पसकी प्रमुख जमुना भट्टराईलाई कारवाहीको माग गरेको हो ।

प्रमुख भट्टराईले अस्ती राति क्याम्पसका विद्यार्थीलाई मनोमानी तरिकाले गालिगलौज गर्दै हातपात गरेकी थिइन् । उनले गालिगलौज गर्दै कराएको र विद्यार्थीमाथि हातपातसमेत गरेको एउटा भिडियो सामाजिक सञ्जालमा भाईरल समेत भएको छ । नेविसङ्घकाअनुसार घटना पश्चात क्याम्पस प्रमुख भट्टराईले विद्यार्थीहरुलाई बाहिर निस्किन दिएकी छैनन् ।

भट्टराईले नेविसङ्घकी एकाई अध्यक्ष सबिना सुनारलाई बाहिर निस्किन नदिएपछि उनले हस्ताक्षर गरेको ज्ञापनपत्र आफूहरुले जिल्ला प्रशासन कार्यालयमा बुझाएको नेविसङ्घका जिल्ला सभापति यादवले बताउनुभयो । नेविसङ्घले बुझाएको ज्ञापनपत्रमा स्ववियू निर्वाचनमा क्याम्पस प्रमुख भट्टराईले खलेको शङ्कास्पद भूमिकाको विरोध गर्दा उल्टै उनले विद्यार्थीलाई गालीगलौज र हातपात गरेको र त्यसको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको उल्लेख छ ।

सञ्जालमा आएको भिडियोमा निक्कै आक्रोशित मुद्रामा प्रस्तुत हुँदै प्रमुख भट्टराइले विद्यार्थीलाई गमला उठाएर हान्न खोजेको, केहि छात्रालाई हातले हिर्काएको, तथानाम गाली गलौज गरेको दृश्यहरु स्पष्ट देखिन्छ । ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले घटनाबारे सत्यतथ्य छानबिन गरेर आवश्यक प्रकृया अगाडि बढाउने आश्वासन दिनुभएको छ ।

नेविसङ्घका अनुसार स्ववियू निर्वाचनमा एमाले समर्थित क्याम्पस प्रमुख भट्टराइले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) का उम्मेदवारलाई जिताउन मौनअवधीमा रातिराति होस्टेलभित्र पसेर विद्यार्थीलाई अनेक धाकधम्की दिएकी थिइन् । निर्वाचनमा एक सदस्य बाहेक सभापति सहित सबै पदमा अनेरास्ववियूकै उम्मेदवार विजयी भएका छन् ।

 


सम्बन्धित समाचार