३ फागुन,काठमाडौं । निर्वाचन आयोग नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८ गतेसम्म चुनावी प्रचारप्रसारको समय निर्धारण गर्दै आचारसंहिताको पूर्ण पालना गर्न सरोकारवालाहरूलाई निर्देशन दिएको छ।
आयोगले तोकिएको कार्यतालिकाअनुसार राजनीतिक दल तथा उम्मेदवारहरूलाई प्रचारप्रसारका लागि निश्चित समयसीमा प्रदान गरेको हो। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार आज राति १२ बजेदेखि सुरु हुने प्रचार अवधि फागुन १८ गते राति १२ बजेसम्म कायम रहनेछ।
सञ्चारकर्मीसँगको भेटघाटमा भण्डारीले प्रचारप्रसारका क्रममा राजनीतिक दल, उम्मेदवार, दलका नेता, प्रतिनिधि तथा शुभेच्छुकहरूले निर्वाचन आचारसंहिताको कडाइका साथ पालना गर्नुपर्ने बताएका छन्। उनले आचारसंहिताको सीमा रेखाभित्र रहेर मात्रै चुनावी गतिविधि सञ्चालन गर्न र कुनै पनि प्रकारको उल्लङ्घन नगर्न सबै पक्षलाई सचेत गराएका छन्।
आयोगका अनुसार आचारसंहिता उल्लङ्घन गर्ने जो–कोहीमाथि स्पष्टीकरण सोध्ने, दण्ड–जरिवाना गर्ने, सार्वजनिक चेतावनी दिने लगायतका कारबाही हुनसक्छ। गम्भीर प्रकृतिको उल्लङ्घन ठहर भएमा उम्मेदवारीसमेत खारेज गर्न सकिने आयोगले जनाएको छ।
‘आचारसंहिता उल्लङ्घन गरेको ठहर भएमा उम्मेदवारी खारेज हुनसक्छ र ६ वर्षसम्म पुनः कुनै पनि राजनीतिक प्रतिस्पर्धामा भाग लिन नपाउने गरी आयोगले निर्णय गर्न सक्छ,’ भण्डारीले चेतावनी दिँदै बताएका छन्।
आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै राजनीतिक दल तथा उम्मेदवारहरूलाई जिम्मेवार र संयमित व्यवहार प्रदर्शन गर्न आह्वान गरेको छ।
















