Logo

२९ चैत, बैतडी । जयपृथ्वी राजमार्गको खोडपे–बझाङ सडकखण्डअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी बझाङको एकै गाउँका छ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५ बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामी रहेका छन् ।

झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से१ज ७६४ नंको जिप मङ्गलबार राति ११ बजे दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।जिपमा सवार अन्य पाँच जनाले हामफालेर ज्यान जोगाएका छन् । बाह्र जना सवार जिप सडकबाट पाँच सय मिटर तल खसेको थियो । जिप चालक फरार छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बालुवाको ढिस्कोमा पुरिएर थप एकको मृत्यु यसैबीच मङ्गलबार बैतडीको धौलाडीस्थित सडकको भिरालो जमिनमा बालुवा खन्ने क्रममा ढिस्कोमा पुरिँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । ढिस्कोले पुरिएर घाइते भएका सिगास गाउँपालिका–२ धौलाडी ६२ वर्षीय सालिभानसिंह धामीको उपचारका लागि डडेल्धुरा लैजाने क्रममा मृत्यु भएको छ ।

उक्त घटनामा सिगास–२ धौलाडीकी ३३ वर्षीया राजमती भाटको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार बालुवाको ढिस्कोमा पुरिँदा ४२ वर्षीय सङ्ग्रामसिंह धामी घाइते भएका छन् । उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ । सँगै बालुवा खन्न गएका नरेन्द्र धामी र मनोज धामी भने सकुशल छन् ।रासस


सम्बन्धित समाचार