Logo

२९चैत,सेढवा । पर्साको वन क्षेत्रमा विगत एक महिनादेखि लागेको डढेलो अझै सम्म पनि नियन्त्रणमा आउन सकेको छैन । डिभिजन वन कार्यालय पर्सा र पर्सा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने राष्ट्रिय वन तथा सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आउन नसकेको हो । आगो नियन्त्रणमा सम्बन्धित निकायले खासै पहल नगरेको स्थानीयले गुनासो गरेका छन् ।

जिल्लाको सेक्टर वन कार्यालय वसन्तपुर, ईलाका वन कार्यालय हरैया, ईलाका वन कार्यालय भतौडा, ईलाका वन कार्यालय रङ्पुर र सेक्टर वन कार्यालय बढ्निहार र पर्सा राष्ट्रिय निकुञ्जको महादेव पोष्ट, चारभैया पोस्ट गडुवा लाइन पोष्ट र निर्मलबस्ती पोष्ट र पञ्चमुखी सामुदायिक वन र सुनाखरी उपभोक्ता समिती अन्तर्गत रहेको वन क्षेत्रमा विगत १ महिना देखि डढेलो लागेको छ ।

डढेलोकै कारण करोडौं मुल्य बराबरका काठहरु तथा बोटबिरुवा जलेर नस्ट भएको स्थानीय वासिन्दाले बताएका छन् । आगलागीबाट निस्केको धुवाँले विशेष गरि जङ्गलसँग सिमाना जोडिएका ठोरी गाउँपालिका, जिराभवानी गाउँपालिका, पटेर्वासुगौली गाउँपालिका, पर्सागढी नगरपालिकाका गाउँका स्थानीयहरुमा आँखा चिलाउने, आँखा रातो हुने बिहानको समयमा धुवाँले अध्यारो हुने जस्ता समस्या देखिएको स्थानीयहरुले गुनासो गरेका छन् ।

तर डिभिजन वन कार्यालय पर्साका प्रवक्ता सहायक वन अधिकृत फरमान मियाँले भने डढेलो नियन्त्रणका लागि आफुलाई जानकारी आएको स्थानमा तुरुन्तै पुगि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र वन रक्षकको टोली परिचालन गरिएको र बाँकी स्थानको पनि आगो नियन्त्रणको लागि जिल्लाले निर्देशन दिइसकेको बताउनुभयो । आगो नियन्त्रणमा एक्लो वन कर्मचारी र प्रहरीले मात्रै नभई स्थानीयको पनि सहयोग चाहिएको बताउनुभयो ।

यसैबीच सुनाखरि उपभोक्ता समिती र पन्चरुखी सामुदायिक वनमा लागेको डढेलो स्थानीय उपभोक्ताहरु विभिन्न समितिका सदस्यहरु र नेपाली सेनाको सहयोगमा आगो निभाइएको र डढेलो लाग्न नदिनको लागि नियमित उपभोक्ताहरुको सहयोगमा गस्ती भैरहेको सुनाखरी उपभोक्ता समितिका अध्यक्ष भिम बहादुर पाख्रीनले जानकारी दिनुभयो ।

 


सम्बन्धित समाचार