Logo

७ फागुन, काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणापत्र (प्रतिज्ञापत्र) माथि आम नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएको छ । हिजो मधेशको राजधानी जनकपुरधामबाट सार्वजनिक गरिएको ‘प्रतिज्ञापत्र’ मा समेटिएका योजना र एजेन्डाहरूबारे प्रष्ट पार्न पार्टी सभापति गगनकुमार थापाले आज खुला प्रश्नोत्तर गर्न लागेका हुन्।

काठमाडौँको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो १ बजेदेखि सुरु हुने यस कार्यक्रमलाई कांग्रेसले ‘हाम्रो प्रतिज्ञा, तपाईंको प्रश्न’ नाम दिएको छ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार कार्यक्रममा आधुनिक प्रविधिको प्रयोग गरिनेछ। सभापति थापाले सुरुमा ठूलो एलइडी स्क्रिनमार्फत प्रतिज्ञापत्रका मुख्य संकल्पहरू प्रस्तुत गर्नेछन् । त्यसलगत्तै, राष्ट्रिय सभागृहमा उपस्थित सहभागीका साथै प्रविधिको माध्यमबाट देश-विदेशमा रहेका नेपालीहरूले प्रत्यक्ष रूपमा प्रश्न सोध्न पाउने व्यवस्था मिलाइएको छ ।

“यो केवल भाषण गर्ने कार्यक्रम होइन, यो उत्तरदायित्वको अभ्यास हो। सभापतिले संसारभरबाट आउने जिज्ञासा र प्रश्नहरूको प्रत्यक्ष जवाफ दिनेछन्,” प्रवक्ता चालिसेले जानकारी दिए ।

कांग्रेसले यसपटकको प्रतिज्ञापत्रमार्फत आफ्नै नेतृत्वमा सरकार बनाउने र आगामी पाँच वर्षमा गर्ने आर्थिक, सामाजिक र राजनीतिक सुधारका योजनाहरूको खाका प्रस्तुत गरेको छ । चुनावी प्रचारको परम्परागत शैलीलाई तोड्दै कांग्रेसले मतदाताको प्रश्नको सामना गर्ने आँट गरेको भन्दै राजनीतिक वृत्तमा यसलाई चासोका साथ हेरिएको छ ।

निर्वाचन आउन अब दुई हप्ता मात्र बाँकी रहँदा कांग्रेसले प्रविधि र प्रत्यक्ष संवादमार्फत युवा पुस्ता र आम मतदातालाई आकर्षित गर्ने रणनीति लिएको देखिन्छ ।


सम्बन्धित समाचार
भर्खरै