
२९ चैत,वीरगञ्ज । दलित समुदायलाई यज्ञमा बञ्चित गराइएकोप्रति प्रतिनिधि सभा सदस्य प्रभु हजरा दुसाधले आपत्ती जनाएका छन् ।प्रतिनिधि सभाको बुधवारको बैठकमा सहभागी हुँदै उनले दलित समुदायलाई संविधानमै व्यस्था गरिएको समानताको हकको प्रत्याभूति गर्न नपाएकोमा चिन्ता व्यक्त गरे ।
उनले भने, ‘पर्सामा विगतमा पनि यज्ञहरुमा विभेद हुँदै आएको थियो । अहिले पनि त्यही परिपाटी दोहोरिएको छ । यसतर्फ गृहमन्त्रालयको ध्यानाकर्षण होस् ।’ जातकै आधारमा विभेद हुनु संविधानको उलंघन गर्नु भएको हुँदा उनीहरुलाई कारवाही गर्न सांसद दुसाधले गृहमन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।
साथै उनले मधेश प्रदेशकै पहिलो केन्द्रीय अस्पताल नारायणी अस्पताल पुर्ननिर्माणका लागि माग गरेका छन् । ४ वर्षदेखि अल्झिरहेको मुद्दालाई टुंगो लगाई पुर्ननिमाण गर्नुपर्ने उनको माग छ । साढे ५ सय शय्याको अस्पताल निर्माणको काम अल्झिँदा सेवाग्राहीले सास्ती खेप्नुका साथै सेवा प्रवाहमा कठीनाई भइरहेको उनले बताए । यसअघि पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप यादवले पनि नारायणी अस्पताल जीर्ण बनेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।