Logo

९ फागुन, वीरगञ्ज । बैंकको करोडौँ कर्जा नतिरेर कालोसूचीमा परेका पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का नेकपा (एमाले) का उम्मेदवार रुपेश कुमार पाण्डे यतिबेला दोहोरो विवादमा तानिएका छन्।

निर्वाचन आयोगमा उम्मेदवारी खारेजीको तरबार झुण्डिरहेका बेला “बैंक डिफल्टर” पाण्डेले राज्यशक्ति र पहुँचको दुरुपयोग गर्दै सादा पोसाकका दुई जना सुरक्षाकर्मी (पिएसओ) लिएर हिँडेको रहस्य खुलेको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोला दाहालले सुरक्षा समितिको निर्णयअनुसार पाण्डेलाई “सुरक्षा थ्रेट” रहेको भन्ने प्रहरी प्रतिवेदनका आधारमा पिएसओ खटाइएको दाबी गरेका छन्।

तर, जिल्लाको सुरक्षा कमान्ड सम्हाल्न आएका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले भने पर्सामा कुनै पनि उम्मेदवारमाथि सुरक्षा चुनौती नरहेको बताएर । उनले पर्साका प्रमुख जिल्ला अधिकारी दाहालले गरेको दाबीलाई खण्डन गरिदिएका छन्।

एसपी सुवेदीले भने, “म आएको ३ दिन भयो, अहिलेसम्म कुनै उम्मेदवार असुरक्षित छ भन्ने सूचना छैन। पाण्डेले लिएको सुरक्षाकर्मीबारे मलाई जानकारी छैन, यो म आउनुअघिकै निर्णय हुन सक्छ ।”

पर्साका ४ वटा निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १०७ जना उम्मेदवार चुनावी मैदानमा हुँदा कसैमाथि पनि हालसम्म कुनै भौतिक आक्रमण नभएको अवस्थामा पाण्डेलाई मात्रै विशेष सुरक्षा दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

पाण्डेले पाएको यो विशेष सुरक्षाका बारेमा उनकै पार्टी एमालेभित्र पनि नेताहरु अनविज्ञ रहेका छन् । एमालेका केन्द्रीय सदस्य एवं पर्सा क्षेत्र नं. ३ का निर्वाचन परिचालन कमिटी संयोजक प्रभु हजाराले पाण्डेमाथि हालसम्म कुनै सुरक्षा थ्रेट नरहेको बताए। ूपर्सामा एमालेका अन्य क्षेत्रका उम्मेदवारले पिएसओ लिएका छैनन्, पाण्डेलाई मात्र कसरी थ्रेट भएछ भन्ने मलाई थाहा छैन, हजाराले भने।

यता, नेकपाका उम्मेदवार छोटेलाल प्रसाद यादवले यसलाई राज्य शक्तिको दुरुपयोग र निर्वाचन प्रभावित पार्ने नौटंकीको संज्ञा दिएका छन्। यादवले भने, “कुनै उम्मेदवारलाई थ्रेट छैन, यो त प्रहरी प्रशासनलाई मैले मुठ्ठीमा राख्न सक्छु भनेर समाजमा रवाफ देखाउन गरिएको प्रपञ्च मात्र हो।”

यस्तै, नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र प्रसाद चौधरीले पनि मतदातालाई मनोवैज्ञानिक दबाबमा पार्न पाण्डेले पिएसओ लिएको भन्दै यसले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाएको बताएका छन्। मधेसमा प्रहरी प्रशासन चलाउन सक्छु भनेर रवाफ देखाउनको लागि पाण्डेले पिएसओ लिएको हुन सक्छ, चौधरीले भने ।

एमालेका उम्मेदवार पाण्डेको व्यक्तिगत आचरण पहिलेदेखि नै विवादित रहँदै आएको छ। उनी विगतमा नेपाली कांग्रेसका नेता रमेश रिजालको आडमा आफूलाई “सादा पोसाकको घुमुवा प्रहरी” हुँ भन्दै हिँड्ने गरेको र सोही आरोपमा प्रहरीबाटै पक्राउ परेका व्यक्ति भएको आरोप अन्य उमेदवारहरुले लगाएका छन् । पाण्डेको हिजोका पृष्ठभूमी समेत राम्रो छैन, यो त मतदाताले पहिचान गर्नुपर्ने बिषय हो, कांग्रेस नेता चौधरीले भने ।

अहिले एमालेबाट उम्मेदवार बनेपछि उनले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग आफ्नो घनिष्ठ सम्बन्ध रहेको भन्दै जिल्ला प्रशासन र प्रहरीलाई दबाबमा पारेर सुरक्षा लिएको चर्चा वीरगञ्जमा व्याप्त छ।

कानुनी प्रावधान र सुरक्षा समितिको निर्णय

नेपालको “विशिष्ट व्यक्तिहरूको सुरक्षा कार्यविधि” अनुसार सुरक्षा समितिको निर्णय विना कसैलाई पनि व्यक्तिगत सुरक्षाकर्मी खटाउन पाइँदैन। उनलाई कस्तो प्रकारको सुरक्षा थ्रेट हो भन्ने कुरा सुरक्षा निकायका प्रमुखहरुले जवाफ दिन मानेनका छैनन् ।

जिल्ला सुरक्षा समितिले गृह मन्त्रालयको कार्यविधिअनुसार व्यक्तिमाथि रहेको ज्यानको जोखिमको वस्तुगत विश्लेषण (Threat Analysis) गरी पुष्टि भएमा मात्र सुरक्षा दिने कानूनी व्यवस्था छ। पाण्डेलाई दिइएको पिएसओ सुरक्षा प्रहरी महानिरीक्षसँगको व्यक्तिगत सम्वन्धका कारणले पाएको हुन सक्ने अन्य राजनीतिक दलका नेताहरुको बुझाई छ ।

पर्साका १०७ उम्मेदवार मध्ये कसैलाई थ्रेट नहुने तर पाण्डेलाई मात्र हुने कुनै ठोस आधार देखिँदैन। निर्वाचन आचारसंहिता अनुसार सबै उम्मेदवारले राज्यबाट समान व्यवहार पाउनुपर्छ। पहुँचका भरमा सादा पोसाकमा पिएसओ लिँदा निर्वाचनको स्वच्छता र पारदर्शितामै गम्भीर प्रश्न उठ्छ।

एकातिर १२ करोडको बैंकिङ बक्यौताका कारण उम्मेदवारी खारेजीको संघारमा रहेका र अर्कोतिर विवादित विगत भएका पाण्डेलाई प्रशासनले सुटुक्क पिएसओ उपलब्ध गराउनुले सुरक्षा संयन्त्रको निष्पक्षतामाथि नै शंका उब्जाएको छ। निर्वाचनको समयमा शान्ति सुरक्षा कायम गर्नु पर्ने प्रशासनले एउटा विवादित उम्मेदवारको “रवाफ” बढाउन प्रहरी परिचालन गर्नु लोकतान्त्रिक मूल्य मान्यता विपरीत देखिन्छ।.


सम्बन्धित समाचार