३० चैत, काठमाडौं । श्रीलङ्काले चीनमा एक लाख वटा बाँदर निर्यात गर्ने तयारी गरेको छ ।श्रीलङ्काले लोपोन्मुख छोटो पुच्छर भएको बाँदर टोक मकाक चीनलाई बेच्ने तयारी गरेको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन्। यो बाँदरलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ ९आईयूसीएन० ले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ ।
श्रीलङ्काले प्राय सबै प्रकारका जीवित जनावरहरूको निर्यातमा प्रतिबन्ध लगाएको छ । पछिल्लो समय खराब आर्थिक सङ्कटको सामना गरिरहेको श्रीलङ्काले बाँदर बिक्रीबाट अर्थतन्त्रमा केही योगदान पुग्ने आशा लिएको छ । बाँदर बिक्रीका लागि चीनबाट आएको प्रस्ताव सार्वजनिक गरिए पनि कति मूल्यमा बाँदर बेच्ने भन्नेबारे सार्वजनिक गरिएको छैन ।
श्रीलङ्काका कृषिमन्त्री महिन्दा अमरवीराले चीनमा चिडियाखानामा राख्नका लागि बाँदर लैजाने योजना रहेको जनाउँदै यसबारे अध्ययनका लागि समिति गठन गरेको बताउनु भएको छ ।
अमरवीराले एएफपीसँग भन्नुभयो,चीनमा रहेका एक हजारभन्दा बढी चिडियाखानाका लागि बाँदर लैजाने तयारी रहेको छ । मैले यसबारे अध्ययन गर्न र हामी यो कसरी गर्न सक्छौँ भनेर हेर्न एक समिति गठन गरेको छु ।
बाँदरले कृषिबालीलाई क्षति पुर्याउने भएकाले तथा यिनिहरूको सङ्ख्या अत्यधिक भएका कारण श्रीलङ्कामा बाँदरलाई कृषकको शत्रुका रूपमा लिने गरिन्छ ।
श्रीलङ्काले यस वर्ष बाँदरका तीनवटै प्रजातिका साथै मयूर र जङ्गली बँदेललगायत थुप्रै प्रजातिलाई संरक्षित सूचीबाट हटाएको छ । श्रीलङ्काको पशु अधिकार समूह, ‘इन्भारोमेन्टल फाउन्डेसन’ले प्रस्तावित बिक्रीको आलोचना गर्दै ४० वर्षभन्दा बढी समयदेखि बाँदर ९मकाक० को राष्ट्रव्यापी सर्वेक्षण नभएको र पहिले उचित जनसङ्ख्या अध्ययन गर्नुपर्ने जनाएको छ ।
फाउन्डेसनका जगत गुणवर्धनाले भन्नुहुन्छ, मासु, चिकित्सा अनुसन्धान वा अन्य कुनै उद्देश्यका लागि वा अन्य कुनै कारण चीन किन यति धेरै बाँदर चाहन्छ भन्नेबारे हाम्रो जिज्ञासा छ । श्रीलङ्कामा बाँदर संरक्षित प्रजाति होइन, तर लोपोन्मुख जनावरको अन्तर्राष्ट्रिय सङ्कटापन्न वन्य जन्तुको सूचीमा पर्छ।
आईयूसीएनको तर्फबाट भने तत्काल कुनै पनि प्रतिक्रिया आएको छैन । श्रीलङ्का सरकारको तथ्याङ्कमा ‘टोक मकाक’को सङ्ख्या २० लाखदेखि ३० लाखको बीचमा रहेको अनुमान गरिएको छ ।