प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१६ फागुन,काठमाडौं । निर्वाचन आयोग नेपालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आवश्यक पर्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि सबै मतदान केन्द्रमा व्यवस्था मिलाउन निर्देशन दिएको छ।

आयोगका अनुसार देशभरका १० हजार ९६७ स्थायी मतदान स्थल र २३ हजार २५५ अस्थायी मतदान केन्द्रमा निर्वाचनको दिन स्वास्थ्यकर्मी र प्राथमिक उपचारको सुविधा उपलब्ध गराइनेछ। निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, अपाङ्ग, अशक्त र ज्येष्ठ नागरिक मतदातालाई आवश्यक परेको खण्डमा प्राथमिक स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउन अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न आयोगले सम्बद्ध निकायको ध्यानाकर्षण गराएको छ।

नारायणप्रसाद भट्टराईका अनुसार आयोगले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् स्थानीय तहलाई पत्राचार गरी सहयोगका लागि अनुरोध गरिसकेको छ। साथै आपतकालीन उपचार सेवा उपलब्ध गराउन चिकित्सक, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सम्बन्धित मन्त्रालयमा निर्देशन पठाइएको छ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सरोकारवाला निकायसँग निरन्तर सहकार्य गर्दै मतदाताको सहज सहभागिताका लागि आवश्यक तयारी पूरा गर्न आग्रह गरेको छ।

फागुन १९ देखि २१ सम्म तीन दिनका लागि मतदान केन्द्र कायम रहेका सरकारी संरचना जस्तै शिक्षण संस्था, स्वास्थ्य चौकी, वडा कार्यालय आदि उपयोग गर्न व्यवस्था मिलाउन सम्बन्धित निकायलाई पत्राचार भइसकेको छ।


सम्बन्धित समाचार