प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१६ फागुन, वीरगञ्ज। पर्सामा चुनावी सरगर्मी उत्कर्षमा पुग्दा मुख्य दलका उम्मेदवारहरू तामझामका साथ घरदैलोमा व्यस्त छन्। तर, जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका अधिकांश स्वतन्त्र उम्मेदवारहरू भने ’अदृश्य’ बनेका छन्।

मतदान हुन अब ५ दिन मात्र बाँकी रहँदा मतदाताले आफ्ना क्षेत्रका स्वतन्त्र उम्मेदवार को हुन् र उनीहरूको एजेन्डा के हो भन्ने समेत थाहा पाउन सकेका छैनन्। जिल्लाका चार निर्वाचन क्षेत्रमा कुल १०७ उम्मेदवारमध्ये ४५ जना स्वतन्त्र छन्। यी ४५ मध्ये औंलामा गन्न सकिने १–२ जना बाहेक अन्यको चर्चा कतै सुनिएको छैन।

’डमी’ उम्मेदवारको आशंका

वीरगञ्ज महानगरपालिका वडा नं ४ का मतदाता सुशिल साह भन्छन “दलका उम्मेदवारहरू दिनहुँ आउँछन्, आश्वासन बाँड्छन् । तर स्वतन्त्र उम्मेदवार को हुन्, के चाहन्छन् भन्ने पत्तो छैन । मत माग्नै नआउने कस्ता उम्मेदवार हुन्, बुझ्न सकिएन ।“

स्थानीय जानकारहरूका अनुसार पर्सामा धेरैजसो स्वतन्त्र उम्मेदवारहरू वास्तविक प्रतिस्पर्धाका लागि नभई दलका उम्मेदवारको ’डमी’ बनेर उभिएका छन् । ठूला दलले चुनावी व्यवस्थापन, थप सवारी साधनको सुविधा, मतदान केन्द्रमा प्रतिनिधि खटाउन र मतगणनाका बेला दाउपेच गर्न आफ्ना निकट व्यक्तिहरूलाई स्वतन्त्र उठाउने रणनीति अपनाएको देखिन्छ । यसले स्वतन्त्र उम्मेदवारीको मर्म र लोकतान्त्रिक मूल्यमाथि नै प्रश्न उठाएको छ।

यही ’डमी’ उम्मेदवारको भीडका बीच स्वतन्त्र उम्मेदवार विशाल कुमार सर्राफ भने भिन्न देखिएका छन् । अन्य स्वतन्त्र उम्मेदवारहरू ओझेलमा परिरहँदा सराफले भने मुख्य राजनीतिक दलका पूर्वजनप्रतिनिधिहरूको असफलतालाई मुख्य एजेन्डा बनाएर आक्रामक घरदैलो गरिरहेका छन्।

“विगतका जनप्रतिनिधिले काम गर्न नसकेकै कारण आफू मैदानमा उत्रिएको“ भन्दै उनले मतदाताको घर–दैलोमा पुगेर मत मागिरहेका छन् । जिल्लाभर चर्चामा रहेका थोरै स्वतन्त्र उम्मेदवारमध्ये उनी एक हुन्, जसले दलका उम्मेदवारलाई चुनौती दिइरहेका देखिन्छन् ।

स्रोत र साधनको अभाव कि रणनीति?

पर्सा क्षेत्र नम्बर १ का एक स्वतन्त्र उम्मेदवारले नाम नछाप्ने शर्तमा भने, “हामीसँग ठूला दलजस्तो स्रोत र साधन छैन । सीमित बजेटका कारण प्रचारमा देखिन नसकेको हो, तर हामी स–साना समूहमा संवाद गरिरहेका छौं ।“
यद्यपि, विगतको अनुभवले के देखाउँछ भने स्वतन्त्र उम्मेदवारका नाममा लिइने निर्वाचन सुविधाहरू अन्ततः ठूला दलकै पक्षमा प्रयोग हुने गरेका छन्। निर्वाचन आयोगको आचारसंहिताले सबैलाई समान अधिकार दिए पनि व्यवहारमा भने पहुँच र पैसाकै बोलवाला देखिन्छ ।

पर्साका मतदाता यतिबेला अलमलमा छन् । कतै आफूले दिने मत स्वतन्त्रको नाममा कुनै दलको गोटी बनिरहेका ’डमी’ उम्मेदवारलाई त जाँदैन?


सम्बन्धित समाचार