Logo

१ वैशाख, ठोरी । पर्साको ठोरी गाउँपालिकामा नयाँ वर्ष मनाउन भित्रिएका आन्तरिक पर्यटकहरुको घुइँचो देखिएको छ । नयाँ वर्ष २०८० को पहिलो दिन आज ठोरीमा पिकनिक तथा घुमफिर गर्न आउने आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।

विशेषगरी ठोरीको ठुटेखोला, राइधारा, गणेशमान पार्क, सिता गुफा, रानीबन, रातो पहाड लगायतका पर्यटकीय क्षेत्रमा नयाँ वर्ष मनाउन बाक्लो सङ्ख्यामा पर्यटकहरुको आवागमन भएको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले जानकारी दिनुभयो ।

ठोरीको पिकनिक स्पटका रुपमा परिचित राइधारामा मात्र करीब ५ हजार पर्यटकहरु आएको उहाँको भनाई छ ।
यस्तै अध्यक्ष बस्नेतका अनुसार राइधारामा साना र ठुला सवारी करीब २ सय र दुई पाङ्ग्रे गरि करीब ५ सय हाराहारीमा सवारी पार्किङ गरिएको छ । राईधारा पिकनिक स्पटको सरसफाइ र व्यवस्थापनको काम बस्नेत नेतृत्वको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिले गर्दै आइरहेको छ ।

पर्साको ग्रामिण क्षेत्रका विभिन्न ठाउँ र वीरगञ्ज, पोखरीया, बाराको कलैया, सिमरा, जीतपुर लगायतका विभिन्न क्षेत्रबाट नयाँ वर्ष मनाउन पर्यटकहरु ठोरी आएका हुन् । विभिन्न स्थानबाट परिवारसहित पर्यटकहरू बाक्लो सङ्ख्यामा नयाँ वर्ष मनाउन ठोरी आएको ठोरीका होटल व्यवसायी धिर सिंह घिमिरेले जानकारी दिनुभयो ।

ठोरीमा पछिल्लो समय चर्चामा रहेको ठोरी जङ्गल रिसोर्टका सन्चालक समेत रहनुभएका व्यवसायी घिमिरेका अनुसार आज मात्र करीब २ हजार जनाले ठोरी जङ्गल रिसोर्टको घुमफिर गरेका छन् ।


सम्बन्धित समाचार