प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१८ फाल्गुण, काठमाडौँ । मध्यपूर्वमा बढ्दो तनावका बीच इरानले अमेरिकासँग वार्ता गर्ने सम्भावनालाई पूर्ण रूपमा इन्कार गरिदिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्ताका लागि इच्छुक रहेको भनी गरेको दाबीलाई इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारिजानीले ठाडै अस्वीकार गरेका हुन् । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव तथा दिवंगत सर्वोच्च नेता आयतुल्लाह अली खामेनीका प्रमुख सल्लाहकार समेत रहेका लारिजानीले ट्रम्पको भनाइलाई आधारहीन भन्दै कडा प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जाल एक्स मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लारिजानीले राष्ट्रपति ट्रम्पले आफ्ना ‘झूटा आशा’ र अपरिपक्व नीतिका कारण यस क्षेत्रलाई अस्थिरता र अराजकताको भुमरीमा फसाएको गम्भीर आरोप लगाएका छन् । लारिजानीका अनुसार ट्रम्प अहिले आफ्ना सैन्य कमाण्डर र सेनाको थप हताहतीलाई लिएर चिन्तित देखिएका छन्, त्यसैले वार्ताको कुरा झिकेर विश्वलाई भ्रमित पार्न खोजिरहेका छन् । इरानले यसअघि पनि पटक-पटक अमेरिकाको दबाबपूर्ण कूटनीति र प्रतिबन्धहरूका बीच वार्ताको टेबलमा नबस्ने अडान राख्दै आएको थियो ।

यो वाकयुद्धले इरान र अमेरिकाबीचको सम्बन्ध थप जटिल मोडमा पुगेको संकेत गरेको छ । एकातिर ट्रम्प प्रशासनले इरानलाई सम्झौताका लागि बाध्य पार्न खोजिरहेको देखिन्छ भने अर्कोतिर इरानले सैन्य र कूटनीतिक दुवै मोर्चामा पछि नहट्ने संकेत दिएको छ ।

इरानी उच्च अधिकारीको यो पछिल्लो अभिव्यक्तिले मध्यपूर्वमा जारी तनाव तत्काल मत्थर हुने छाँटकाँट नदेखिएको र दुई मुलुकबीचको संवादको ढोका लगभग बन्द भएको विश्लेषण गर्न थालिएको छ ।


सम्बन्धित समाचार