प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१८ फाल्गुण, काठमाडौं । इरान र अमेरिकाबीचको बढ्दो सैन्य तनावका बीच संयुक्त अरब इमिरेट्स (यूएई) मा नयाँ किसिमको डिजिटल ठगी मौलाउन थालेको छ ।

इरानले यूएईस्थित अमेरिकी सैन्य बेस क्याम्पहरूलाई निशाना बनाएर हवाई आक्रमण गरिरहेको संवेदनशील समयको फाइदा उठाउँदै अपराधीहरूले क्राइसिस म्यानेजमेन्ट (संकट व्यवस्थापन) का नाममा सर्वसाधारणलाई लुट्ने प्रयास गरिरहेका छन् ।

दुबई प्रहरीले हालैका दिनहरूमा यस्ता ठगीका घटनाहरूमा उल्लेख्य वृद्धि भएको भन्दै त्यहाँ बसोबास गर्ने नेपालीलगायत सबै आप्रवासी तथा स्थानीयलाई उच्च सतर्कता अपनाउन विशेष आग्रह गरेको छ ।

ठगहरूले आफूलाई दुबई क्राइसिस म्यानेजमेन्ट विभागका कर्मचारी वा प्रहरी अधिकारीको रूपमा चिनाउँदै मानिसहरूलाई टेलिफोन र सन्देश पठाउने गरेका छन् ।

सुरक्षाको बहाना बनाएर उनीहरूले सर्वसाधारणबाट यूएई पासको लगइन विवरण, इमिरेट्स आईडी र बैंकसँग सम्बन्धित अति संवेदनशील जानकारी असुल्ने प्रयास गरिरहेको पाइएको छ । प्रहरीका अनुसार अपराधीहरूले सिम-स्वाप जस्ता अत्याधुनिक प्रविधि प्रयोग गरी पीडितको मोबाइल बैंकिङ एपमा पहुँच जमाउने र क्षणभरमै बैंक खाता रित्याउने गरेको देखिएको छ ।

यस विषम परिस्थितिमा दुबई प्रहरीले आधिकारिक विज्ञप्ति जारी गर्दै कुनै पनि सरकारी निकायले फोन वा एसएमएसमार्फत गोप्य भेरिफिकेशन कोड वा व्यक्तिगत विवरण नमाग्ने प्रष्ट पारेको छ । अपरिचित व्यक्ति वा संकास्पद लिङ्कहरूबाट आएका आग्रहलाई पूर्ण रूपमा बेवास्ता गर्न र आफ्नो बैंकिङ सुरक्षालाई मजबुत राख्न प्रहरीले कडा निर्देशन दिएको छ ।

युद्ध र संकटको मनोवैज्ञानिक त्रास देखाएर सर्वसाधारणलाई ठग्ने गिरोह सक्रिय रहेकाले कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्त सुरक्षा निकायमा खबर गर्न समेत आह्वान गरिएको छ ।


सम्बन्धित समाचार