१८ फाल्गुण, काठमाडौं । आसन्न निर्वाचनको संघारमा प्रधानमन्त्री सुशीला कार्कीले सोमबार राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै मुलुकको राजनीतिक स्थिरता र सुरक्षाका विषयमा सरकारको स्पष्ट धारणा सार्वजनिक गरेकी छन् ।
जेनजी आन्दोलनपछिको तरल अवस्थालाई चिर्दै मुलुक अहिले विधिको शासन र संविधानको मार्गमा दृढताका साथ अघि बढेको दाबी गर्दै उनले यस उपलब्धिलाई संस्थागत गर्न आगामी निर्वाचन ऐतिहासिक हुने उल्लेख गरिन् ।
आज मध्यरातिदेखि मौन अवधि सुरु हुनुअघि उनले विशेष गरी चारवटा मुख्य बुँदामा केन्द्रित रहेर देशवासी, राजनीतिक दल र सुरक्षा निकायलाई महत्वपूर्ण अपिल गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले आफ्नो सम्बोधनको पहिलो बुँदामा आगामी बिहीबार (फागुन २१ गते) हुने निर्वाचनमा सक्रिय सहभागी हुन मतदाताहरूलाई विशेष आग्रह गरेकी छन् । उनले मतदानलाई केवल कसैलाई जिताउने माध्यम मात्र नभई आफ्ना सन्तानको भविष्यको फैसला गर्ने सुनौलो अवसरका रूपमा व्याख्या गर्दै सबै काम छोडेर भए पनि मतदान केन्द्रमा पुग्न आह्वान गरिन् ।
दोस्रो बुँदामा उनले निर्वाचनको मर्यादा जोगाउन मौन अवधिको अनुशासन पालना गर्न र राजनीतिक दलहरूलाई स्वस्थ प्रतिस्पर्धामा उत्रन आग्रह गरिन् । निर्वाचन आयोग, सुरक्षा संयन्त्र र कर्मचारी प्रशासनको सक्रियताको प्रशंसा गर्दै उनले निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनेमा आम नागरिकलाई आश्वस्त पारेकी छन् ।
प्रधानमन्त्रीको सम्बोधनमा यसपटकको निर्वाचन र होलीको संयोगलाई पनि विशेष महत्व दिइएको छ । निर्वाचन र फागुपूर्णिमाको रङहरूले देशमा नयाँ राष्ट्रिय उत्साह र आपसी सद्भाव बढाउने विश्वास व्यक्त गर्दै उनले तेस्रो बुँदामा सम्पूर्ण नेपालीमा सुख र एकताको शुभकामना व्यक्त गरिन् । निर्वाचनको चहलपहलसँगै रङहरूको यो पर्वले नेपाली समाजको विविधतालाई अझ मजबुत बनाउने उनको तर्क थियो ।
यसैबीच, मध्यपूर्वमा बढ्दै गएको इरान र अमेरिकाबीचको सैन्य तनावप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीले चौथो अपिलमार्फत विदेशमा रहेका नेपालीहरूको सुरक्षाबारे सरकारको दृढ प्रतिबद्धता जनाएकी छन् । युद्धको संकट गहिरिएको क्षेत्रमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको रक्षाका लागि परराष्ट्र मन्त्रालय र सम्बन्धित देशका नेपाली नियोगहरूलाई २४ सै घण्टा सक्रिय र सघन अनुगमनमा राखिएको उनले जानकारी दिइन् ।
नेपाली नागरिक विश्वको जुनसुकै कुनामा भए पनि उनीहरूको हित र सुरक्षामा यो सरकार सधैं साथमा छ, भन्दै उनले वैदेशिक रोजगारीमा रहेका युवा र उनीहरूका परिवारलाई धैर्य रहन आग्रह गरेकी छन् ।

















