१८ फाल्गुण, काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि आज मध्यरातिदेखि मौन अवधि सुरु हुँदै गर्दा निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनमा शून्य सहनशीलता अपनाउन निर्देशन दिएको छ ।
७७ वटै जिल्लाका निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरूलाई विशेष परिपत्र जारी गर्दै आयोगले मौन अवधिमा हुने सक्ने अवाञ्छित गतिविधि र प्रचारप्रसारलाई कडाइका साथ नियन्त्रण गर्न निर्देशन दिएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार जिल्ला आचारसंहिता अनुगमन समितिसँगको समन्वयमा अनुगमनकर्ताको पूर्ण अधिकार प्रयोग गरी आचारसंहिता पालना गराउन जिल्ला तहका अधिकारीहरूलाई भनिएको छ ।
निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिको यो संवेदनशील समयमा कुनै पनि प्रकारको चुनावी प्रचारप्रसार, जुलुस वा सभा गर्न पाइने छैन। यसलाई मध्यनजर गर्दै आयोगले सबै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखहरूलाई अनुगमनको मुख्य जिम्मेवारी सुम्पिएको छ । विशेष गरी आर्थिक चलखेल र भोजभतेर जस्ता गतिविधि रोक्न कोष तथा लेखा नियन्त्रकहरूलाई विशेष सक्रियता देखाउन निर्देशन दिइएको छ । फागुन २१ गते हुने मतदान प्रक्रिया नसकिउन्जेलसम्म यो कडाइ कायम रहनेछ ।
आयोगले राजनीतिक दल, उम्मेदवार र उम्मेदवारका समर्थकहरूलाई समेत मौन अवधिको मर्यादा भुलेर कुनै पनि माध्यमबाट भोट माग्ने वा मतदातालाई प्रभाव पार्ने कार्य नगर्न सचेत गराएको छ । यदि कसैले आचारसंहिताको उल्लंघन गरेको पाइएमा तत्काल कानुनी कारबाही अघि बढाउन अनुगमन अधिकृतहरूलाई पूर्ण अधिकार दिइएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउनका लागि मौन अवधिको अनुशासन पालना गर्नु सबै सरोकारवालाको दायित्व भएको आयोगको ठहर छ ।

















