प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१८ फाल्गुण, काठमाडौं । नेपाल आयल निगमले मुलुकभर पेट्रोलियम पदार्थको आपूर्ति प्रणाली सहज रहेको स्पष्ट पार्दै उपभोक्तालाई घरमा अनावश्यक रूपमा इन्धन भण्डारण नगर्न सचेत गराएको छ ।

बजारमा अभाव हुन सक्ने त्रासका बीच उपभोक्ताले ड्रम र जर्किनमा पेट्रोल भर्न थालेपछि निगमले यस्तो आग्रह गरेको हो । निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले सोमबार एक विज्ञप्ति जारी गर्दै पाइपलाइनमार्फत पेट्रोलियम पदार्थको आयात नियमित रूपमा भइरहेको जानकारी दिनुभयो। ‘हामीसँग पर्याप्त मौज्दात छ र आयातमा कुनै अवरोध छैन,’ उहाँले भन्नुभयो, ‘आसन्न निर्वाचनको समयमा समेत इन्धनको आपूर्तिमा कुनै समस्या नआउने सुनिश्चितता हामी गर्दछौं ।’

जर्किन र ड्रममा भर्न निषेध

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै निगमले पेट्रोल पम्पहरूलाई जर्किन, ड्रम वा जेरी क्यानमा तेल बिक्री नगर्न निर्देशन दिएको छ। इन्धनलाई असुरक्षित रूपमा भण्डारण गर्दा आगलागी जस्ता गम्भीर दुर्घटना निम्तिन सक्ने भन्दै निगमले उपभोक्तालाई ‘प्यानिक बाइंग’  नगर्न भनेको हो ।

सुरक्षा पहिलो प्राथमिकता

सम्भावित आगजन्य विपत्ति न्यूनीकरण गर्न आवश्यक परिमाणमा मात्रै तेल खरिद गर्न निगमको अनुरोध छ। पम्पहरूमा अनावश्यक भीड नगर्न र बजारमा फैलिने भ्रमको पछि नलाग्न पनि निगमले उपभोक्तालाई आह्वान गरेको छ।


सम्बन्धित समाचार