१९ फागुन, वीरगञ्ज । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा संवेदनशीलताका कारण पर्सा जिल्लासँग जोडिएका नेपाल–भारत सीमा नाकाहरू ७२ घण्टाका लागि पूर्ण रूपमा बन्द (सिल) गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार मध्यरातदेखि लागु हुने गरी सीमा नाकाबाट हुने आवतजावतमा रोक लगाएको हो। निर्वाचनको समयमा हुन सक्ने सम्भावित घुसपैठ र सुरक्षा चुनौतीलाई न्यूनीकरण गर्न दुवै देशका सुरक्षा निकायबीचको आपसी समझदारीमा यो निर्णय लिइएको प्रशासनले जनाएको छ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलका अनुसार फागुन १८ गते राति १२ बजेदेखि सुरु भएको यो प्रतिबन्ध फागुन २१ गते राति १२ बजेसम्म कायम रहनेछ। यस अवधिमा पर्सासँग जोडिएको भारतको विहार राज्यस्थित पूर्वी र पश्चिम चम्पारणका सबै सीमानाकाहरू पूर्ण रूपमा ठप्प हुनेछन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सीमा क्षेत्रमा सुरक्षा गस्ती समेत बढाइएको छ।
दुई मुलुकबीचको परम्परागत समझदारी अनुरूप निर्वाचनको ७२ घण्टा अघिदेखि सीमा सिल गर्ने गरिन्छ। यस अवधिमा एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सेवा र दुवै देशको सहमतिमा चल्ने विशेष सवारी साधनबाहेक अन्य पैदल यात्री तथा सवारी साधनको आवागमनमा पूर्ण बन्देज लगाइएको छ। वीरगञ्ज नाकासहितका प्रमुख नाकाहरूमा कडाइ गरिएसँगै सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखिएको प्रशासनले स्पष्ट पारेको छ।


















