२० फागुन, सिरहा । प्रतिनिधिसभा निर्वाचनको संघारमा मौन अवधिको उल्लंघन गरेको आरोपमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार पक्राउ परेका छन्। सिरहा क्षेत्र नं. ३ का जसपा उम्मेदवार अशेश्वर यादव र पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सिरहाका जसपा उम्मेदवार अशेश्वर यादवलाई गएराति करिब १२:३० बजे ४ लाख ८७ हजार रुपैयाँ नगदसहित प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई शिवचोकमा संयुक्त सुरक्षा टोलीले चेकजाँच गर्दा उक्त परिमाणको नगद फेला परेको हो ।
प्रहरी स्रोतका अनुसार गाडीभित्र नगदका साथै केही थान मतपत्र समेत फेला परेका छन्। मौन अवधिमा मतदाता प्रभावित पार्न रकम लैजाँदै गरेको आशंकामा उम्मेदवार यादवसहित गाडीमा सवार पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। पक्राउ परेकाहरूलाई थप कानुनी कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाउने तयारी भइरहेको छ ।
यो पनि :
नेकपा उम्मेदवार मनोज चौधरी चढेको गाडीबाट शंकास्पद वस्तु फेला,चौधरीसहित ५ जना प्रहरी नियन्त्रणमा

















