२१ फागुन, उदयपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियार अचानक पड्किँदा मतदान केन्द्रमा केही बेर त्रास फैलिएको छ। कटारी नगरपालिका-३ स्थित तरकारी तथा फलफूल बजार बिक्री केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा सुरक्षाकर्मीको ‘सर्टगन’ बाट गोली चल्दा मतदानमा प्रयोग भइरहेको मतपेटिकामा क्षति पुगेको हो ।
कोशी प्रदेश प्रहरी कार्यालयका डिआइजी विनोद घिमिरेका अनुसार ड्युटीमा रहेका सुरक्षाकर्मी आकस्मिक रूपमा लड्न जाँदा उनले बोकेको हतियारबाट गोली पड्कन गएको थियो । इलाका प्रहरी कार्यालय सुन्दरपुर दरबन्दी भई हाल अस्थायी प्रहरी पोष्ट चुहाडेमा कार्यरत एक प्रहरी जवानको हातमा रहेको सर्टगनबाट गोली छुटेको प्रहरीले जनाएको छ।
गोली लाग्दा मतपेटिकाको बाहिरी भागमा क्षति पुगेको भए पनि भित्र रहेका मतपत्रहरू भने सुरक्षित रहेका छन् । “गोली चल्दा मतपेटिकामा क्षति पुगेको छ, तर सौभाग्यवश कसैलाई चोटपटक लागेन,” डिआइजी घिमिरेले भने, “उक्त मतपेटिकामा ४ वटा मत खसिसकेका थिए, ती सबै सुरक्षित छन्।”
घटनालगत्तै केही बेर मतदान प्रक्रिया रोकिए पनि निर्वाचन अधिकृतको टोलीले मुचुल्का उठाएर अर्को नयाँ मतपेटिकाको व्यवस्था गरेपछि अहिले मतदान पुनः सुचारु भएको छ । सुरक्षाकर्मीको लापरवाही वा प्राविधिक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मतदान केन्द्रमा अहिले सुरक्षा व्यवस्था थप कडा पारिएको छ र मतदाताहरू पुनः शान्तिपूर्ण रूपमा मतदानमा सहभागी भइरहेका छन् ।

















